राराबका कर्मचारीले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाउने – Madhesh Update

राराबका कर्मचारीले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाउने

   April 18, 2023  

जनकपुरधामस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पस (राराब) का कर्मचारीहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाउने जनाएका छन्। राराबका कर्मचारीहरूले बुधबारदेखि क्याम्पस प्रमुख प्रदिप कुमार प्रसादको कार्यालयमा तालाबन्दी गर्नुका साथै उनलाई क्याम्पस परिसरमा समेत प्रवेश निषेध गर्ने चेतावनी दिएका हुन्।

विभिन्न ११ बुँदे माग राख्दै कर्मचारीहरु विगत तीन दिनदेखि आन्दोलनरत रहेपनि क्याम्पस प्रमुख प्रसादले कुनै चासो नदेखाएको आरोप लगाइएको छ।

उनीहरुले पहिलो दिन आइतबार धर्ना दिँदै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए भने दोस्रो दिन क्याम्पसको प्रशासनिक काम ठप्प पारेका थिए। कर्मचारीहरुले विद्यार्थी अनुसार कर्मचारी र शाखा हुनुपर्ने प्रमुख माग अघि सारेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रजातान्त्रिक कर्मचारी समूह र नेपाल प्रगतिशील कर्मचारी समूह राराब क्याम्पस एकाई कमिटिले गत चैत २४ गते १३ बुँदे संयुक्त विज्ञप्ति मार्फत गरेको मागलाई क्याम्पस प्रमुख प्रसादले बेबास्ता गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष विमल कुमार ठाकुरले बताए।

उनले प्रथम चरणको शान्तिपूर्ण आन्दोलनलाई समेत बेबास्ता गरेको बताउँदै आफूहरुले सुरुदेखि नै वार्ता र सहमतिबाट समस्याको निकास खोज्न बारम्बार आग्रह गरेको जिकिर गरे।