फोहोरको डंगुरबाट सर्लाहीमा नक्कली नोट बरामद

सर्लाहीको लालबन्दीमा फोहोरको डंगुरबाट ठूलो मात्रामा नक्कली नोटसहित नोट आकारको कागज बरामद भएको छ । लालबन्दी नगरपालिका–७ दुर्गा मन्दिर नजिक फोहोर फाल्ने स्थानबाट बेवारिसे अवस्थामा नक्कली नोट बरामद भएको हो ।
फोहोर फाल्ने स्थानमा स्थानीयले झोला देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए । तत्कालै घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी नायव उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५ सय ३० थान नक्कली नोटसहित पैसा आकारको ६ सय कागज बरामद भएको जनाए । नक्कली नोट प्रयोगमा ल्याउन नसकेपछि ती गिरोहले फोहोर फाल्ने ठाउँमा फालेको हुन सक्ने प्रहरीको आंकलन छ ।
प्रहरी नायव उपरीक्षक कार्कीले नक्कली नोट फाल्ने व्यक्तिको पहिचान गर्ने प्रयासमा प्रहरी लागेको जानकारी दिए । जिल्लामा नक्कली नोटको संगठित अपराधको जालो फैलिँदै गएको छ । विगत तीन महिनायता झण्डै नौ लाख नक्कली नोटसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने तीनजना १–१ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । एकजना अनुसन्धानकै क्रममा रहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार २ सय ४३ बन्डल नोट आकारको कागजसहित कागज काट्ने मेसिन समेत बरामद भएको छ ।