महोत्तरीमा ज्याला माग्दा ठेकेदारद्धारा मजदुरलाई कालोमोसो दल्दै मुण्डन – Madhesh Update

महोत्तरीमा ज्याला माग्दा ठेकेदारद्धारा मजदुरलाई कालोमोसो दल्दै मुण्डन

   April 12, 2023  

महोत्तरीमा ज्याला माग्दा मजदुरलाई कालोमोसो र कपाल मुण्डन गर्ने ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका–६ का ३४ वर्षीय ठेकेदार कृष्ण मिश्र भनिने आनन्द भूषण मिश्राले स्थानीय २१ वर्षीय मजदुर मोबारक नदाफलाई चोरीको आरोप लगाएर लोहरपट्टी चोकमा बोलाएर कालोमोसो दली मुण्डन गरेर कुटपिट गरेका थिए ।

गत चैत्र २३ गते उनलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि महोत्तरी प्रहरीले मिश्रलाई नियन्त्रणमा लिई मुद्दा चलाएको हो ।

प्रहरीले मिश्रलाई नियन्त्रणमा लिएर अपमानजनक तथा अमानवीय व्यवहार कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जनाएको छ । नियन्त्रणमा लिएको मिश्रलाई म्याद थप गरी सो कसुरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीकै हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

निर्माण व्यवसायी मिश्रसँग नदाफले रमजान मनाउन पारिश्रमिक मागे गरेका थिए । मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको बेला काम गरेबापतको ज्याला माग गर्दा नदिएपछि उनले काम गर्दै गरेको औजार लिएर हिँडेका थिए ।

पछि ‘औजार लिएर आउनु पैसा दिन्छु’ भनेर शिव आश्रममा बोलाएको नदाफको परिवारजनले जनाएको छ । पैसा दिन्छु भनेर बोलाएर उनीमाथि दुर्व्यवहार उपर यस्तो हर्कत गरेको उनको परिवारजनको आरोप छ ।

घटना पश्चात् पीडित नदाफले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत्र २७ गते उजुरी गरेपछि सोही दिन निर्माण व्यवसायी मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो ।

निर्माण व्यवसायी उपर चलाइएको अमानवीय अपमानजनक व्यवहार कसुरमा अधिकतम पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । यता निर्माण व्यवसायीको तर्फबाट पनि चोरीको आरोप लगाइएका मजदुरलाई कारबाही गर्न माग गरिएको छ ।