रौतहटका अग्निपीडितलाई काग्रेस सहित विभिन्न दातृ संस्थाहरुको आर्थिक सहयोग – Madhesh Update

रौतहटका अग्निपीडितलाई काग्रेस सहित विभिन्न दातृ संस्थाहरुको आर्थिक सहयोग

   April 11, 2023  

रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा, मानपुरका अग्निपीडितलाई विभिन्न दाता तथा संस्थाहरुले सहयोग गरिरहेका छन् । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले व्यक्तिगत रूपमा पाँच हजार रुपैयाँका दरले प्रत्येक पीडित परिवारलाई सहयोग गरेका छन् । त्यस्तै माधव नारायण नगर प्रमुख बैजु प्रसाद यादवले अग्निपीडित परिवारलाई कपडा, भाँडा, त्रिपाल, खाद्यान सामग्री तथा केही नगद समेत सहयोग गरेका छन् ।

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रा, एसपी वीरबहादुर बुढामगर, नेपाल रेडक्रस सोसाइटी रौतहटका सभापति राजकिशोर यादव, गौर नगर प्रमुख शम्भु साह सहितको टोली पुगेर खाद्यान्न लगायत विभिन्न बन्दोबस्तीका सामान सहयोग गरेको स्थानीय समाजदेवी पारस भण्डारीले जानकारी दिए ।

गत आइतबार दिउँसो २ बजे स्थानीय जिउत मुखियाको घरमा खाजा बनाउन बालिएको चुल्होबाट आगो सल्किएर आगलागी हुँदा खपडा तथा खरको छाना भएको २१ वटा घर जलेर नष्ट भएका थिए । आगलागी पीडितहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।