१ सय १८ किलो चरेस र ४ किलो गाँजासहित पर्सामा ३ जना पक्राउ

प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका–५ देउरियास्थित प्रदेशी राउत थारुको घरबाट आइतबार साँझ पौने ५ बजेको समयमा ११८ किलो चरेस र ४ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
राउतको घरमा लागूऔषध रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा १ सय १८ किलो लागूऔषध चरेस र ४ किलो गाँजा फेला परेको थियो ।
लागूऔषध ओसारपसार तथा किनबेचमा संलग्न रहेको आरोपमा प्रहरीले घरधनी ६० वर्षीय प्रदेशी राउत थारु, मकवानपुर राक्सिराङ गाउँपालिका–८ का ३५ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका–८ का २५ वर्षीय रोशन मोक्तानलाई पक्राउ गरेको छ ।