राजविराजमा नेता कुट्ने प्रहरी निरीक्षकलाई निलम्बन गर्न सिफारिस – Madhesh Update

राजविराजमा नेता कुट्ने प्रहरी निरीक्षकलाई निलम्बन गर्न सिफारिस

   April 6, 2023  

आफ्ना जिल्ला अध्यक्ष केदार यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीभित्र प्रहरी निरीक्षक नवीन थापामगरले दुर्व्यवहार र कुटपिट गरेको भन्दै जनता समाजवादी पार्टीले सप्तरीको राजविराजमा थालेको आन्दोलन बुधबार साँझबाट स्थगन गरेको छ ।

बुधबार साँझ जिल्ला प्रशासन कार्यालय सप्तरीमा स्थानीय प्रशासनका प्रमुखहरुको उपस्थितिमा भएको सर्वदलीय बैठकले जसपा जिल्ला अध्यक्ष यादवसँगको घटनामा संलग्न प्रहरी निरीक्षक थापामगरलाई निलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाउन सिफारिस गर्ने निर्णय गरेपछि जसपाले आन्दोलन स्थगन गरेको हो ।

महदेवा गाउँपालिकाको पकरीकी एक किशोरी नुहाउँदै गरेको भिडियो खिचेर टिकटक बनाएको विषयमा पक्राउ परेका युवकबारे बुझ्न गएका बेला जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक थापामगरले जिल्ला अध्यक्ष यादवलाई सुरुमा दुर्व्यवहार गरेको र त्यसपछि हातपात गर्दा आँखा छेउमा घाउ भएको जसपाको आरोप छ ।

घटनापछि मंगलबार र बुधबार जसपा कार्यकर्ताहरुले राजविराजमा प्रदर्शन गरे । त्यस क्रममा मंगलबार जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका थिए । बुधबार साँझ मसाल जुलुससहित जिल्ला प्रहरीको मूलगेटतर्फ अघि बढ्न खोज्दा रोकेपछि प्रहरीसँग सामान्य झडप भएको थियो ।

जसपा सप्तरीका अध्यक्ष केदार यादवलाई प्रहरी कार्यालयभित्रै कुटपिटको आरोप लागेका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक थापामगरलाई बुधबार बिहानै मधेश प्रदेश प्रहरी गणमा तानिएको छ ।