सप्तरीका पालिका निमित्तकै भरमा

सप्तरीको राजविराज नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव विनयकुमार सोनु गत फागुन ५ गते सरुवा भएर सप्तरीकै डाकनेश्वरी नगरपालिका गए । उनको सरुवा भएको डेढ महिना बित्दा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएकै छैन ।
स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादव निमित्त रहेर दैनिक कार्यालय सञ्चालन भइरहेको छ ।
प्रशासनिक अधिकार नभएपछि नगरपालिकामा आर्थिक कारोवार, भुक्तानी, सम्झौतालगायतका काम रोकिएका छन् । नगरपालिकामा प्रशासनिक नेतृत्व मात्र होइन्, राजनैतिक नेतृत्व पनि कार्यवाहककै भरमा छ । भ्रष्टाचारसम्बन्धी पुरानो मुद्दामा अख्तियारले नगरप्रमुख भीमराज यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बित छन् । उपप्रमुख इसरत परविण कार्यवाहक प्रमुख छिन् ।
यसैगरी, शम्भुनाथ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले सम्हालेका छन् । अख्तियारले नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ताविरुद्ध घूससम्बन्धी मुद्दा बिशेष अदालतमा आरोपपत्र दायर गरेसंगै उनी निलम्बित छन् । उपप्रमुख अनिताकुमारी चौधरी कार्यवाहक नगर प्रमुख छिन् ।
राजविराज र शम्भुनाथ मात्र होइन जिल्लाका ९ नगरपालिकामध्ये ६ वटामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सुचारु छन् । सप्तकोशी नगरपालिकामा रामदेव चौधरी, कञ्चनरूपमा रेणुका साह, हनुमाननगर कंकालिनीमा हरिमोहन सुतिहार, बोदेवरसाइनमा घनश्याम यादव प्रमुख प्रशासकीय अधिकृत छन् । सुरुङ्गामा गजेन्द्रनाथ शर्मा, डाकनेश्वरीमा विनयकुमार सोनु र खड्ग नगरपालिकामा हरेन्द्रकुमार श्रेष्ठ उपसचिव प्रमुख प्रशासकीय अधिकृत छन् ।
नगर प्रमुखले आफूअनुकूलका मान्छेलाई मात्र प्रशासकीय अधिकृतको रूपमा रहनुपर्ने मानसिकता राखेका कारण दरबन्दीअनुसारको उपसचिव खटाइएको छैन । संघीय सामान्य प्रशासन मन्त्रालयले कुनै पनि पालिकामा निमित्तको भरमा नराख्न भनेका छ । मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको अनुदान रोक्ने चेतावनीसमेत दिएको थियो ।