सर्लाहीका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको भ्याक्सिन अभाव – Madhesh Update

सर्लाहीका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको भ्याक्सिन अभाव

   April 5, 2023  

सर्लाहीका सरकारी स्वास्थ्य संस्थामा कुकुरले टोक्दा लगाइने एन्टी रेबिज भ्याक्सिन अभाव भएको छ। सरकारले निःशुल्क उपलब्ध गराइरहेको रेबिजविरुद्धको भ्याक्सिन अभाव भएपछि बिरामी निजी स्वास्थ्य संस्थामा गएर महँगो शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र (लालबन्दी) र सासापुर स्वास्थ्य चौकी (हरिवन) मा यतिबेला एन्टी रेबिज भ्याक्सिन छैन।

कुकुरले टोकेपछि त्यहाँ पुगेका बिरामीलाई भ्याक्सिन नभएको भन्दै स्वास्थ्यकर्मीले निजी क्लिनिकमा पठाउने गरेका छन्। एन्टी रेबिज भ्याक्सिन एक डोजको ६ सय रुपैयाँ पर्छ। कुकुरले टोकेका बिरामीले तीन तीन दिनको फरकमा तीन डोज भ्याक्सिन लगाउनुपर्छ।

कुकुरले टोकेपछि रेबिज भ्याक्सिन लगाउन प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी पुगेका हरिवन ३ डाबरीका उग्रमान मोक्तानले आफूले सरकारी अस्पतालमा भ्याक्सिन नपाएको गुनासो गरे।

‘सुरुमा भ्याक्सिन लगाउन सासापुर स्वास्थ्य चौकी गएको थिएँ’, मोक्तानले भने, ‘त्यहाँका स्वास्थ्यकर्मीले यहाँ भ्याक्सिन सकिएको छ, लालबन्दी जानूस् भने। त्यसपछि लालबन्दी गएँ। त्यहाँ पनि भ्याक्सिन सकिएको छ भन्ने जवाफ पाइयो। अनि निजी क्लिनकमा गएर भ्याक्सिन लगाएँ।’

मोक्तानजस्तै सर्लाही श्रीनगरका प्रमोदकुमार सिंहले पनि प्राथमिक स्वास्थ्य केन्द्र (लालबन्दी) मा रेबिजको भ्याक्सिन लगाउन पाएनन्।

‘स्वास्थ्यकर्मीले मलाई पनि निजी क्लिनिकबाट भ्याक्सिन खरिद गरेर ल्याउनूस् भने। मैले बाहिरबाट भ्याक्सिन किनेर ल्याएपछि उनीहरूले नै लगाइदिए।’

प्राथमिक स्वास्थ्य केन्द्र (लालबन्दी) का प्रमुख सुदीप काफ्लेले कुकुरले टोकेका बिरामी धेरै आउँदा भ्याक्सिन अभाव भएको बताए।

‘हाम्रो केन्द्रमा एक महिनाका लागि जनकपुरस्थित स्वास्थ्यको आपूर्ति महाशाखाबाट जम्मा दुई सय डोज भ्याक्सिन आउँछ’, उनले भने, ‘तर यहाँ एक महिनामै कुकुरले टोकेका तीन सयभन्दा धेरै बिरामी आउने गरेका छन्। एक महिनाका लागि भनेर ल्याएको भ्याक्सिन १५ दिनमै सकिने गरेको छ।’

केन्द्रमा भ्याक्सिन सकिएपछि बिरामीलाई निजी क्लिनिकमा गएर भ्याक्सिन लगाउनूस् भन्नुको विकल्प नभएको उनले बताए।

‘हामीले पटकपटक माथिल्लो निकायलाई भ्याक्सिनको कोटा बढाइदिनूस् भनिरहेका छौँ, तर सुनुवाइ भएको छैन’, उनले भने।

सासापुर स्वास्थ्य चौकीका इन्चार्ज मोहन घिसिङले पनि एक महिनाका लागि भनेर ल्याएको भ्याक्सिन १५ दिनमै सकिने गरेको बताए।

‘अचेल कुकुरले टोकेका बिरामी नै धेरै आउँछन्’, उनले भने, ‘हामीलाई महिनामा जम्मा ५० डोज भ्याक्सिन आउँछ। त्यतिले पुगिरहेको छैन।’