बारा–२ बाट ३६ जनाको उम्मेदवारी

प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज निर्धारित समयसीमा भित्र ३६ जनाले उम्मेदवारी दिएका हुन् ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव सो क्षेत्रबाट निर्वाचित भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेका ठुला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको साझा उम्मेदवारका रुपमा जसपा नेपालका अध्यक्ष यादवले उम्मेदवारी दिएका हुन् । उनी दिउँसो २ बजेतिर उम्मेदवारी दर्ता गराउन कलैया पुगेका थिए । बारा जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् । यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थक नारायण यादव छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका रमेश खरेलले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सुरक्षामा केन्द्रित भएर काम गर्ने दाबी गरे । मतदाता नै आफ्नो संगठन भएकाले जित सुनिश्चित भएको उनको भनाइ छ ।
‘यस्तै जनमत पार्टीबाट उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले विगतदेखि जनताको सेवा गरेकाले आफूले यस पटक जित्ने दाबी गरे । ‘मैले स्वतन्त्र रुपमा चुनाव लड्न खोजेको थिएँ । जनताको बिचमा गएँ । जनताले कुनै पार्टीबाट लड्न सुझाव दिनुभयो,’ कुशवाहाले भने, ‘धेरै जनाले जनमत पार्टीबाट चुनाव लड्नुस् भन्नुभयो । मलाई पनि यही पार्टीबाट चुनाव लड्नुपर्छ भन्ने भएपछि चुनाव लडेँ ।’ आफूलाई भारी मतका साथ विजयी गराउने कुशवाहाको दाबी छ ।