उपेन्द्र यादवविरुद्ध सीके राउत – भर्खरै पराजित व्यक्ति संसद जान खोज्नु जनमतको अपमान – Madhesh Update

उपेन्द्र यादवविरुद्ध सीके राउत – भर्खरै पराजित व्यक्ति संसद जान खोज्नु जनमतको अपमान

   April 2, 2023  

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नु जनमतको अपमान हुने बताएका छन् ।

शनिबार बारा– २ मा आयोजित पार्टीको कार्यक्रममा उनले ४ मंसिरको चुनावमा पराजित व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्नु जनमतको अपमान हुने बताएका हुन् ।

‘भर्खरै पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानुहुँदैन, त्यसो गर्नु भनेको जनताले दिएको मतको अपमान हो’, डा राउतले भने, ‘जनताले पनि यो बुझेका छन् । कुनैपनि हालतमा उहाँको यो षडयन्त्रलाई सफल हुन दिँदैनन् ।’

यसअघि जितेको ठाउँमा उपेन्द्रले आफ्नो साख जोगाउन नसकेको भन्दै उनले बारा– २ का जनताले बाहिरका मान्छेलाई नजिताउने दाबी गरे । ‘यो भन्दा अगाडि जहाँ जित्नुभएको थियो । त्यो ठाउँमा त साख जोगाउन सक्नुभएन, दोब्बर मतान्तरले पराजित भएर भाग्नुप¥यो’ डा। राउतले भने, ‘उहाँकै मेयर थियो । त्यहाँ (सप्तरी) मा केही चलेन भने यहाँ झन् चल्दैन । उहाँ बाहिरबाट आएको उम्मेदवार हुनुहुन्छ । यहाँको मान्छेले यहीको उम्मेदवार खोजेका छन् ।’

जनमत पार्टीका नेताको स्वच्छ छवि, सरकार र सदनमा देखाएको सक्रियता, यसअघि गरेको किसान आन्दोलनले गर्दा उपनिर्वाचनमा आफूहरुले जित्ने राउतको दाबी छ ।

‘जनताको बीचमा एजेण्डा लिएर जाँदैछौं । जनतालाई सम्झाउदैछौं । जनताले सीके राउतलाई हेरौं कस्तो छ भनेर खोजेका छन् । जनताको इच्छा पूरा गर्नु मेरो दायित्व हो । आवश्यकता अनुसार म निर्वाचन क्षेत्रमा रहन्छु । चुनाव जित्ने लगभग तय भइसकेको छ ।’