सिरहामा निजी विद्यालयहरुकै सेटिङमा एसईईमा चिट चोरी – Madhesh Update

सिरहामा निजी विद्यालयहरुकै सेटिङमा एसईईमा चिट चोरी

   April 2, 2023  

सिरहाका माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निजी विद्यालयहरुको सेटिङमा चिट चोरी हुने गरेको पाइएको छ । जिल्लाकै नाम चलेका निजी विद्यालयहरुले सरोकारवाला सवैलाई प्रभावमा पारेर मोवाइल र फ्ल्याप नै बनाएर परीक्षामा चोरी गराएको पाइएको हो ।

जनता माध्यमिक विद्यालय सोनमती गाढा, लहान–१९ परीक्षा केन्द्रमा व्यापक मात्रामा चिट भेटिएको छ । आजको गणित विषयको परीक्षा सकिएलगत्तै पुगेको सञ्चारकर्मीको समूहले कक्षा कोठामा यत्रतत्र फालिएको अवस्थामा फ्ल्याप फेला पारेको हो ।

यस सम्वन्धमा केन्द्राध्यक्ष अरविन्द कुमार दाससँग प्रतिक्रिया लिँदा उनले कक्षाकोठामै केही विद्यार्थीले फ्ल्याप बनाएको पाइएको बताए । उनले भने, ‘बाहिरबाट कुनै चिट आएको छैन, मेयरहरु अनुगमनको क्रममा आएकै बेला दुई जना विद्यार्थीले फ्ल्याप समेत तयार पार्दै गरेको पाइएको थियो, अहिले उनीहरुलाई नियन्त्रणमा राखेर कारबाहीको सिफारिस गर्दैछु ।’

केन्द्राध्यक्ष दासले सबैतिर प्रहरीको निगरानी भएकाले बाहिबाट कुनै चिट आउने सम्भावना नभएको बताए । परीक्षा केन्द्रभित्रै शिक्षक प्रयोग गरेर फ्ल्याप बनेको स्रोतले जनाएको छ ।

यस परीक्षा केन्द्रमा जनता माध्यमिक विद्यालय गोर्छारी, एपोलो इङ्गलिस बोर्डिङ स्कूल, मनोकामना इङ्गलिस बोर्डिङ स्कूल, प्यारागन इङ्गलिस बोर्डिङ स्कूल, सारदा आवासीय माध्यमिक विद्यालय, मोडर्न आदर्श स्कूल र नेशनल एकेडेमीका विद्यार्थीहरुले परीक्षा दिँदै आएका छन् ।

यहाँ जम्मा दुई सय २४ विद्यार्थीले परीक्षा दिइरहेका छन् । ६ वटा कक्षाकोठा प्रयोग गरेर लिइरहेको परीक्षामा ११ जना गार्ड प्रयोग गरिएको केन्द्राध्यक्ष दासले जानकारी दिए ।

त्यसैगरी, सिरहाको नरहा–४ स्थित जनता वनबाली उच्च माध्यमिक विद्यालय बर्छबाका केन्द्राध्यक्ष राम ईश्वर यादवले नै बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई मोबाइल दिने गरेको पाइएको छ । सिरहा प्रशासनले एसईई परीक्षालाई मर्यादित बनाउन मोबाइल प्रवेश निषेध गरिए पनि जिल्लाका विभिन्न परीक्षा केन्द्रमा निजी विद्यालयको सेटिङमा मोबाइल र फ्ल्यापको माध्यमबाट चिट चोरी गरिएको पाइन्छ ।

यता जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख राम वृक्ष महतोले मोबाइल र फ्ल्यापबारे जानकारी नआएको र सो विषयमा बुझने प्रयास गरिरहेको बताए । उनले भने, ‘निरीक्षणको समयमा हामीले कुनै विद्यालयमा फ्ल्याप पाएनौं, पाइएमा कडा कारबाही गर्छौं ।’