चुरे अभियानी सुनिल यादव आमरण अनशनमा

चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव आमरण अनशनमा बसेका छन्। चुरे अभियानीहरुले भूमिहीन तथा सुकुम्वासीहरुको माग सम्बोधन गराउने अभिप्रायले सुरु गरेको धर्नाको ३७ दिनपछि पनि सम्बन्धित कुनै निकायले चासो नलिएपछि यादव शुक्रबारदेखि आमरण अनशनमा बसेका हुन्।
भूमिहीन तथा सुकुम्वासीहरु चुरे तथा वनजंगल संरक्षण अभियान अन्तर्गत जनआवाज आन्दोलन सुरु गरेर गत फागुन ११ गतेदेखि अनिश्चितकालिन धर्नामा बस्दै आएका थिए।
धर्नामा बसेको ३७औँ दिनसम्म पनि तीन वटै तहमहध्ये कुनै तहको सरकार आफूहरुको मागप्रति चासो नलिएपछि बाध्य भएर आमरण अनशनमा बसेको चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक यादवले बताए।
‘हाम्रो मागप्रति सरकार गम्भीर छैन’, यादवले भने, ‘नेपालमा माग सम्बोधन गराउनका लागि कि त मार्नु पर्छ कि त मर्नु पर्छ। हामी कसैले चोट पुर्याउन सक्दैनौँ त्यसैले आफ्नो सम्बोधन गराउनका लागि प्राणको आहुति दिन तयार छु।’
माग सम्बोधन नभएसम्म आमरण अनशन जारी रहने उनले बताए।
चुरे तथा वन जङ्गल संरक्षण अभियान र मधेश प्रदेश सरकारबीच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने चुरे अभियानीहरुको माग छ।
यस्तै, वैदेशिक रोजगार सम्बन्धी समस्या समाधान गर्न संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा अन्तर्गत व्यवस्था मिलाउँदै दलितका लागि राजनीतिक आरक्षण सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा छन्।