मधेशबाट एसईई परीक्षामा ७९ हजारबढी परीक्षार्थी सहभागी हुँदै – Madhesh Update

मधेशबाट एसईई परीक्षामा ७९ हजारबढी परीक्षार्थी सहभागी हुँदै

   March 30, 2023  

चैत १७ गतेदेखि देशैभरी एसईई परीक्षा सुरु हुन लागेको छ। मधेश प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। गत दुई आर्थिक वर्षमा कोरोना महामारीको संक्रमणका कारण नराम्ररी प्रभावित भएको एसईई परीक्षालाई मर्यादित बनाउनका लागि तयारी गरेको मधेश सरकारले जनाएको छ।

मधेशमा यस पटकको एसईई परीक्षामा कुल २ सय ७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परीक्षार्थीहरु सहभागी हुने भएका छन्। सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार १ सय ४६ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा कम रौतहटमा ३५ परीक्षा केन्द्रमा ८ हजार ९ सय ५७ विद्यार्थीले परीक्षा दिनेछन्।

त्यस्तै, सप्तरीमा ३६ परीक्षा केन्द्रमा ९ हजार ५ सय २७, सिरहामा ४० परीक्षा केन्द्रमा १० हजार १ सय ५०, महोत्तरीमा ३१ परीक्षा केन्द्रमा ९ हजार ५४, सर्लाहीमा १० हजार ९ सय १६, बारामा ३२ परीक्षा केन्द्रमा ९ हजार १ सय ७९ र पर्सामा २५ परीक्षा केन्द्रमा ९ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुनेछन्।

मधेश सरकारले परीक्षालाई मर्यादित बनाउनका लागि ७ हजार ५ सय ७९ जनशक्ति खटाइने जानकारी दिएको छ। यसका साथै परीक्षा केन्द्रहरुमा सुरक्षाकर्मी समेत परिचालन गरिनेछ।

मधेशमा एसईई परीक्षालाई मर्यादित, भयरहित र अनुशासित बनाउनका लागि सरकारले हरसम्भव प्रयास गर्ने मधेश प्रदेशको शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले प्रतिवद्धता व्यक्त गरे। यसका लागि ८ वटै जिल्लाका शिक्षा समन्वय ईकाईका प्रमुखहरु, ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका पदाधिकारीहरुसँग समन्वय तथा छलफल गरिएको मन्त्री यादवले बताए।

मधेशमा यसअघि चिट चोरेर परीक्षा उत्तिर्ण गर्ने परिपाटी बढ्दै गएकोतर्फ संकेत गर्दै मन्त्री यादवले यस पटक यो परिपाटी चिरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।