बारा–२ को उपनिर्वाचनमा कांग्रेसले राधेचन्द्र यादवलाई उम्मेदवार बनाउने
जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने बारा निर्वाचन क्षेत्र नम्बर २ मा १० वैशाखको उपनिर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले संविधानसभाका पूर्वसदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बारा निर्वाचन क्षेत्र नं २ मा रिक्त प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि यादवको एकल नाम सिफारिस गरेको हो । जसपाले सतारुढ गठबन्धन कै उम्मेदवार पार्टी अध्यक्ष यादव बन्ने दावी गरिरह्दा काग्रेसले आफनो उम्मेदवारी सिफारिस गरेका छन ।
यसअघि हिजो आइतबार बसेको नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय कार्यसमितिले यादवको एकल नाममा सर्वसम्मत रूपमा निर्णय गरेर जिल्ला कार्यसमितिमा पठाएको थियो । क्षेत्रको सिफारिसका आधारमा जिल्ला कार्यसमितिले आज निर्णय गरेर यादवको नाम मधेस प्रदेश कार्यसमितिलाई पठाइएको छ ।
जिल्ला सभापति राजेश राय यादवद्वारा हस्ताक्षर गरिएको सो निर्णय पत्रको बोधार्थ नेपाली कांग्रेसका केन्द्रीय सभापति र केन्द्रीय कार्यालयमा समेत पठाइएको छ । राधेचन्द्र यादव २०५१ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ४ कार्यकाल बारा जिल्ला सभापति समेत हुन् । यादव नेपाली कांग्रेसभित्र पुराना र इमानदार नेता मानिन्छन् ।