पर्सामा १० किलो चरेससहित एक जना पक्राउ

प्रहरीले पर्साको कालिकामाई गाउँपालिकास्थित एक घरबाट ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ । सोमबार बिहान प्रहरीले कालिकामाई गाउँपालिका–१ तिनडुबियाका ३८ वर्षीय बृजेशप्रसाद कुर्मीको घरबाट ९ किलो ८ सय ग्राम चरेस बरामद गरेको हो ।
कुर्मीले घरमा चरेस लुकाइराखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमान्डमा खटिएको टोलीले खानतलाशीपछि उक्त चरेस बरामद गरेको हो ।
कुर्मीको घरकोठा खानतलासी गर्ने क्रममा घरको अगाडि बरन्डामा खाटमुनि पहेलो र कालो प्लास्टिकले बेरिएको ५ सय ग्रामको २० पोकामा गरी ९ किलो ८ सय ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । कुर्मीलाई मंगलबार जिल्ला अदालतमा पेस गरी अदालतबाट ४ दिनको म्याद थप लिई अनुसन्धान भई रहेको गिरीले बताए ।