उपप्रधानमन्त्री नपाए पछि बाँच्नै नसक्ने गरि उपनिर्वाचन लडन नेताहरु खोज्दैछन – सिके राउत
निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन
जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । उनले निश्चित व्यक्तिलाई लक्षित गरेर बारा २ मा तत्काल निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन आयोगमाथि प्रश्न उठाएका हुन् । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा आगामी वैशाख १० मा उपनिर्वाचन गर्ने आयोगले घोषणा गरेको छ ।
उक्त निर्वाचन क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा चलेका बेला गठबन्धनमा रहेका नेता राउतले त्यसप्रति संसद्मा नै आपत्ति जनाएका हुन् । बारा २ मा सांसद पद रिक्त भएको सूचना संसद सचिवालयमा आएको छैन । उता निर्वाचन आयोगले तुरुन्तै वैशाख १० लागि निर्वाचन घोषणा गरिसक्यो । यति रफ्तारमा अरु काम पनि भइदिए त राम्रो हुने थियो, यादवप्रति लक्षित गर्दै राउतले भने, कसैलाई उपप्रधानमन्त्रीबिना ३/४ महिना बाँच्नै नसक्ने अवस्था सिर्जना भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन । यसले निर्वाचन आयोगको विश्वसनियतामाथि प्रश्न उठाएको छ ।
उपराष्ट्रपति निर्वाचनका क्रममा महिला सांसदहरूलाई महिला उम्मेदवारलाई भोट हाल्न नसक्ने अवस्था सिर्जना गरिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद राउतले महिला सांसदहरूले नै आफूलाई प्राप्त संविधानको अधिकार प्राप्त गर्न नसकेको अवस्थामा सर्वसाधारण जनताले कसरी पाउने हुन् भन्ने प्रश्न गरेका छन् ।