६ महिनामा बारा, रौतहट र मकवानपुरमा हात्तीको आक्रमणमा ५ को मृत्यु – Madhesh Update

६ महिनामा बारा, रौतहट र मकवानपुरमा हात्तीको आक्रमणमा ५ को मृत्यु

   March 26, 2023  

गत सोमबार रौतहटमा घाँस काट्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो । चन्द्रपुर–धन्सारखण्डअन्तर्गत जंगलमा गएकी चन्द्रपुर नगरपालिका–४ का ४९ वर्षीय मीना मगरको घटनास्थलमै मृत्यु भएको हो ।

समूहमा गएका अन्यले भागेर ज्यान जोगाएका थिए । मगरलाई आक्रमण गर्ने हात्ती थियो, यमगज । पछिल्लो ६ महिनामा यमगजको आक्रमणमा परी ५ जनाको ज्यान गइसकेको छ । यमगजले बारामा २, रौतहटमा २ र मकवानपुरमा १ जनाएको ज्यान लिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जका अनुसार १४ वर्षे किशोर हात्ती यमगज हिंस्रक देखिएको छ । यो हात्ती अहिले रौतहटको जंगलसैया क्षेत्रमा रहेको निकुञ्जको भनाइ छ । बारा, पर्सा, रौतहट र मकवानपुरको वन क्षेत्रमा आतंक मच्चाइरहेको यमगज बाराको टांगियाबस्ती क्षेत्रको राष्ट्रिय वन छोडेर जंगलसैया पुगेको हो । यमगजकै कारण निकुञ्जको हात्तीसारका ८ ढोईलाई सुरुमा रामभौरीभाठा र त्यसपछि प्रतापपुर पोष्टमा लगेर राखिएको छ ।

रौतहटको वाग्मती, गैडाटार, महेशपुरसम्म पुगिसकेको यमगज आफ्नो पुरानै थातथलोतर्फ फर्कने अनुमान बिपरित हाल बारा र रौतहटको वन क्षेत्रमा रमाइरहेको छ । निकुञ्जकर्मी यमगज रौतहटबाट पूर्व लाग्ने वा पश्चिमतिरै फर्किने तत्कालै अनुमान गर्न नसकिने निकुञ्जका सूचना अधिकृत सूर्य खड्का बताउँछन् । ‘यमगजले १० महिनायता रौतहटदेखि मकवानपुरसम्म ४ जिल्लाको विभिन्न स्थानमा आफ्नो उपस्थिति देखाएको छ, बढी समय निकुञ्जमा रमाएको थियो,’ उनले भने, ‘अहिले निकुञ्जको बाहिरी क्षेत्र बारा र रौतहटको राष्ट्रिय वन क्षेत्रमा छ ।’

तत्कालै यमगजलाई धपाउने वा डार्ट गरेर बेहोस बनाई अन्यत्र लग्ने योजना पनि नरहेको उनले बताए । ‘हामीले यसअघि नै यमगजको दारा काटेर शान्त बनाउने प्रयास गरिसकेका छौं,’ उनले भने, ‘तैपनि उसको मात घटेको छैन ।’ निकुञ्जका पूर्व प्रमुख अशोक रामले असारको अन्तिम साता यमगजसंगै पर्सा निकुञ्जसम्म आइपुगेका ५ हात्तीमध्ये २ वटा फर्किसकेको बताए । तर अझै ३ वटा हात्ती भने निकुञ्ज र यसको वरपरको राष्ट्रिय वन क्षेत्रमै बसेको उनी बताउँछन् । २ वटा हात्ती पर्साबाट पूर्व फर्कने क्रममा हालै सिन्धुली र सिरहामा १ १ जनाको ज्यान लिएको थियो ।