रौतहटको गरुडामा मेयर विरुद्ध अनशन बसेका यादवले तोडे अनशन – Madhesh Update

रौतहटको गरुडामा मेयर विरुद्ध अनशन बसेका यादवले तोडे अनशन

   March 26, 2023  

अनियमितताबारे सूचना माग्दै एक सातादेखि आमरण अनशन बसेका रौतहटको गरुडा नगरपालिकाका प्रमुखका प्रत्याशी दीपक यादवले अनशन तोडेका छन् । यादवलाई प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले कार्यक्रमस्थलमै पुगेर कागजपत्र उपलब्ध गराएपछि आइतबार दिउँसो जुस पिएर अनशन तोडेका हुन् । नगरपालिका प्रमुख कन्थमणि जैसवालले अनियमितता गरेको र आफूले विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको भन्दै अनशनमा बसेको यादवले बताए । यद्यपि आफूले मागेको सूचना उपलब्ध भइसकेपछि अनशन तोडेको उनले सुनाए ।

शिक्षा क्षेत्रमा भएको खर्च र उपलब्धि, विद्युत्, इन्टरनेटमा भएको खर्च र उपलब्धि, कर्मचारी नियुक्ति, हाजिर रजिष्टर, तलब पेश्की विवरण, पदपूर्ति समितिको छनौट र प्रक्रिया, विकासका योजना भुक्तानीका विवरण, दर्ता चलानीको किताब र प्रतिलिपि, कोरोनापीडितलाई दिइएको रकम, नगरपालिकाको सम्पूर्ण बैंक खाताको विवरण, हालसम्म भएको खर्चको मासिक विवरणलगायत सार्वजनिक सुनवाइ हुनु पर्ने माग राखी यादव चैत ३ गते साँझदेखि अनशन बसेका हुन् ।

नगरपालिकाको विभिन्न शीर्षकमा भएका काम, कर्मचारीको नियुक्ति, खर्चलगायतको विवरण माग्दै यादवले आन्दोलनका क्रममा नगरप्रमुख जैसवालमाथि दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी गरुडाले उनलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । उनले स्थानीय सञ्चारकर्मीलाई समेत तथानाम गालीगलौच गरेपछि पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्तिसमेत निकालेर भर्त्सना गरेको थियो । त्यसपछि उनले सञ्चारकर्मीसामु माफी मागेका थिए ।