वाग्मती बगरको स्वामित्वलाई लिएर रौतहट र सर्लाहीका तीन पालिकाविच विवाद – Madhesh Update

वाग्मती बगरको स्वामित्वलाई लिएर रौतहट र सर्लाहीका तीन पालिकाविच विवाद

   March 23, 2023  

वाग्मती नदीको बालुवा–गिट्टी र ढुंगा उत्खनन मामिलामा सर्लाही र रौतहटका तीन वटा स्थानीय तहबीच विवाद बढेको छ । विवाद सुल्झाउन चन्द्रनिगाहपुरमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नगर प्रमुखसहित प्राविधिक बसेर छलफल गरे पनि टुंगो लागेन् । रौतहटको वृन्दावन, गढीमाई र सर्लाहीको बरथहवा नगरपालिकाबीच वाग्मती नदीको सीमा बिवाद बढेको हो ।

नदीबाट उत्खनन् हुने क्षेत्र तीनवटै पालिकाले आफ्नो भनेर दाबी गरिरहेका छन् । वाग्मतीको सीमा विवाद बढेपछि बरथहवा र वृन्दावन नगरपालिकाले नदीजन्य बस्तु निकासीको ठेक्का लगाउन सकेका छैनन् । गढीमाईले यसै वर्ष ठेक्काद्वारा निकासी गरिरहेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले तीनवटै पालिका बीच सीमा विवादले समस्या भइरहेको बताए ।
‘नगरपालिकाका प्रमुख र प्राविधिकसहितको प्रतिनिधि राखेर छफल गर्‍यौं तर कुनै सहमति नबनेपछि प्राविधिक समिति बनाएर सीमा छुट्याउन काम अघि बढाएका छौं,’ उनले भने, ‘समितिले प्रतिवेदन बुझाएपछि कसरी जाने भन्ने विषयमा अन्तिम टुगो लगाउँछौं ।’

नगरपालिका गठन भएदेखि पालिकाबीच खोलाको सीमालाई लिएर विवाद छ । विवाद मिलाउन पटक पटक छलफल र बहस भए पनि टुंगिएको छैन । सीमा निर्धारण गर्न तीन नगरपालिकाको संयुक्त बैठक बसेको थियो । बैठकमा सर्लाही प्रजिअ यादव र रौतहटका प्रजिअ धर्मेन्द्रकुमार मिश्र तथा सुरक्षा अधिकारी सहभागी थिए । नदीजन्य बस्तु निकासीका लागि स्थलगत अनुगमन गरी कार्यविधि बनाउन तीनै नगरपालिका सहमत भएको सर्लाही प्रजिअ यादवले बताए । उनका अनुसार वाग्मती नदीको सीमा निर्धारण गर्न रौतहट र सर्लाहीका नापी कार्यालय, नगरपालिकाका प्राविधिकको समिति गठन गरिएको छ ।

वाग्मती नदीभन्दा पूर्वतिर गढीमाई र वृन्दावन नगरपालिकाका स्थानीयको केही जग्गा पर्छ । पश्चिम क्षेत्रबाट नदीजन्य बस्तुको निकासी वृन्दावन र गढीमाई नगरपालिकाले गर्दै आएपछि सर्लाहीले आफ्नो क्षेत्र भनेर दाबी गरेको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए । सीमा विवाद सकेसम्म छिट्टै सुल्झाउनु पर्ने बताए ।