रामजानकी रंगशालामा दुई अर्ब लगानी गर्ने मधेश सरकारको घोषणा
मधेश सरकारले जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ रजौलस्थित निर्माणधीन रंगशालाको बुधबार स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले यस्तो घोषणा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला घोषणा गरेको एक अर्ब र मधेश सरकारले थप एक अर्ब गरी दुई अर्ब रुपैयाँ लगानी गरेर रंगशालालाई पूर्णता दिने मुख्यमन्त्री यादवले बताए ।
उनले देशकै सुविधासम्पन्न नमुना रंगशाला बनाएर र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने समेत घोषणा गरे ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले २०७४ सालमा तीन वर्षभित्र जनकपुरधाममा सुविधासम्पन्न रंगशाला बनाउने भन्दै रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि गुठी संस्थानसँग भाडामा लिएको थियो ।
राखेपले त्यतिबेला उक्त जग्गामा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियमका साथै बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर निर्माण गर्ने भने पनि काम केही भएको छैन ।