मल अनुदान कटौती गरेको निर्णयप्रति जनमत पार्टीको विरोध – Madhesh Update

मल अनुदान कटौती गरेको निर्णयप्रति जनमत पार्टीको विरोध

   March 16, 2023  

रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयलाई जनमत पार्टीले पनि विरोध गरेको छ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले विज्ञप्ति जारी गरेर मलमा अनुदान कटौती गरेको निर्णयको विरोध गरेका हुन् ।

उनले मलमा अनुदान बढाउन, पर्याप्त मल खाद खरिद गर्न र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न माग गरेका छन् । ‘सरकारले जनताको हितमा काम गर्नु पर्ने र उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टा मलको समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको बेवास्ता गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले रासायनिक मलमा दिइँदै आएको ७०.८२५ अनुदान कटौती गरी ५९.०४५ बनाएको छ । अब किसानले प्रतिकिलो युरियामा रू ११, डिएपीमा रू ७ र पोटासमा रू ९ थप मूल्य भार बेहोर्नु पर्नेछ ।

किसानहरूको हितमा माग सम्बोधन नभए जनमत पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष राउतले चेतावनी दिएका छन् ।