जग्गा किर्ते आरोपमा जसपा पूर्वअध्यक्ष र वडाध्यक्षमाथि अनुसन्धान

जग्गा किर्ते गरेको आरोपमा पक्राउ परेका जनता समाजवादी पार्टी बाराका पूर्वअध्यक्ष अजय पटेल र वन मासेको आरोपमा पक्राउ परेका कोल्हवी नगरपालिका ५ रामवनका वडाध्यक्ष नन्दकिशोर चौधरीमाथि अनुसन्धान सुरु गरिएको छ ।
पटेललाई नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरोको टोलीले सोमबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएपछि प्रहरीले अदालतबाट मंगलबार ५ दिनको म्याद लिई अनुसन्धान थालेको हो ।
यसैगरी, डिभिजन वन कार्यालय सिमराले शनिबार पक्राउ गरेको वडाध्यक्ष चौधरीलाई हिरासतमा राखेर अदालतबाट थप ३ दिनको म्याद लिई अनुसन्धान थालेको हो । परवानीपुर गाउँपालिका ५ बहुअरी गाउँका ४५ वर्षीय पटेल २०७० को संविधानसभा सदस्यमा उम्मेदवार थिए । उनले आफ्नो स्वर्गीय बुवा मदनप्रसाद कुर्मीको नाममा फर्जी मोहीको कागजात बनाएर भूमिसुधार कार्यालयको अभिलेख (लगत) मा समावेश गरेकाले सोही कसुरमा अनुसन्धान गर्न हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
यसैगरी, डिभिजन वनले राष्ट्रिय वन क्षेत्रको साढे ५ हेक्टरमा गरेको वृक्षरोपण स्थानीयलाई उक्साएर फाँडेको वडाध्यक्ष चौधरीमाथि आरोप लगाएर अनुसन्धान थालेको हो ।