७० वर्ष अघि स्थापित प्रहरी कार्यालयको अहिलेसम्म छैन भवन – Madhesh Update

७० वर्ष अघि स्थापित प्रहरी कार्यालयको अहिलेसम्म छैन भवन

   March 16, 2023  

रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ स्थित कटहरीयामा ७० वर्ष अघि स्थापना भएको प्रहरी कार्यालयको हालसम्म पनि भवन निर्माण र स्तरोन्नति हुन सकेको छैन । यस क्षेत्रबाट जनप्रतिनिधिका रुपमा विभिन्न नेताले संसदमा प्रतिनिधित्व गरिसकेका छन् । तर कसैले पनि उक्त प्रहरी कार्यालयको स्तरोन्नति तथा भवन निर्माणमा चासो देखाएको पाइएन ।

२०७४ सालको निर्वाचनमा कटहरीया नगरपालिकामा सीयाराम कुशवाहा मेयर, प्रदेश ख मा कुन्दन कुशवाहा र प्रतिनिधिसभा सदस्यमा प्रभु साह निर्वाचित भएका थिए । निर्वाचनपछि मेयर कुशवाहा र प्रदेश सांसद कुशवाहाले प्रहरी कार्यालयको स्तरोन्नति र भवन निर्माणका लागि सामान्य पहल गरेका थिए भने पूर्व मन्त्री प्रभु साहले हाल ‘ग’ श्रेणीमा रहेको ईलाका प्रहरी कार्यालय कटहरीयाको स्तरोन्नति तथा भवन निर्माणका लागि सार्वजनिक कार्यक्रममै प्रतिबद्धता जनाएका थिए ।

यद्यपि अहिलेसम्म इलाका प्रहरी कार्यालय कटहरीयाको स्वरुप फेरिएको छ । अहिले पनि ईलाका प्रहरी कार्यालय कटहरीयामा ठाडो उजुरी लिने बाहेक कुनै अधिकार छैन । कुनै मुद्दा दर्ता गर्न अथवा कुनै कानुनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडा अथवा जिल्ला प्रहरी कार्यालय गौर जानुपर्ने कटहरीयाबासीको बाध्यता बनेको छ ।

ईप्रका कटहरीयामा सईको कमाण्डमा १६ जनाको दरबन्दी रहेकोमा हाल ९ जनामात्र कार्यरत रहेको सई अशोक महतोले जानकारी दिए । जनशक्ति अभावका कारण दैनिक गस्ती, बजार सुरक्षा लगायत जनताको ज्यानधनको सुरक्षा दिन कठिनाई हुने गरेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं एसपी वीरबहादुर बुढामगरले प्रहरी कार्यालयको नाउँमा जग्गा नभएका कारण ईलाका प्रहरी कार्यालय कटहरियाको स्तरोन्नति नभई भवन समेत निर्माण हुन नसकेको बताए ।

स्थानीय तह अथवा कुनै निकायबाट लगानी गरी ईलाका प्रहरी कटहरियाको नाउँमा जग्गा दर्ता गराउन सकेमा भवन निर्माणका लागि सरकारले लगानी गर्ने तथा स्तरोन्नतिको बाटो खुल्ने उनको भनाइ छ ।