पर्सामा ६ स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि – Madhesh Update

पर्सामा ६ स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

   July 27, 2020  

पर्सामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड डा मदन उपाध्यायले बताए ।

संक्रमित हुनेहरुमा ९ वर्षका बालदेखि ४५ वर्षसम्मका रहेका छन् । त्यसमध्ये १४ जना पुरुष र ४ जना महिला छन् । उनका अनुसार पर्साको पर्सागढी नगरपालिकाको बढ्निहारस्थित क्वारेन्टाइनमा खटिएका ६ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको गण्डक अस्पतालका ३४ वर्षीय कर्मचारी, नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी र एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

वीरगञ्ज ६ माईस्थानका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । डा उपाध्यायका अनुसार तीनै जना साउन ८ गते कोभिड अस्पतालमा मृत्यु भएका ७० वर्षीय वृद्धको कन्टयाक्ट ट्रेसिङमा परेकाहरु हुन् ।

यसैगरी वीरगञ्ज–१४ का ३० वर्षीय पुरुष, वीरगञ्ज १४ बहुअरी गण्डकका ३२ वर्षीय पुरुष , वीरगञ्ज ११ श्रीपुरका ४५ वर्षीय पुरुष, वीरगञ्ज २ छपकैयाँका २५ वर्षीय पुरुष, वीरगञ्ज ६ रेशमकोठीका ३२ वर्षिय पुरुष र सखुवा प्रसौनी गाउँपालिका २ श्रीपुर पचगावाका ४० वर्षीय पुरुषको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले जानकारी दिए ।

साउन ७ गते देखि ९ गतेसम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्ड संक्रमितहरुले भरिएका कारण संक्रमितहरुलाई हाल घरमै राखिएको कोभिड अस्पतालका ईन्चार्ज डा उदय नारायण सिंहले जानकारी दिए ।

आइसोलेशनको अभावमा अहिलेसम्म ४६ जनालाई होम आईसोलेशनमै राखेर उपचार गर्ने काम भइरहेको छ । योसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २५९ पुगेको छ भने, मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला स्वासथ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी  दिए ।