रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उपप्रधानमन्त्री बन्ने योजनामा उपेन्द्र यादव
राष्ट्रपतिको निर्वाचनका लागि आठ दलीय गठबन्धन निर्माण भएपछि त्यसमध्येको एक घटक जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव संसद छिर्ने कोसिसमा लागेका छन् ।
सप्तरी क्षेत्र नं २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका यादवले संसद छिर्ने प्रयासमा लागेका हुन् । उनी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने र ६ महिनाभित्र उपनिर्वाचनमार्फत संसदमा प्रवेश गर्ने तयारीमा लागेको स्रोतको दाबी छ ।
उपराष्ट्रपतिमा रामसहाय यादवलाई पठाएर बाराको क्षेत्र नं २ बाट उपेन्द्रले चुनाव लड्न लागेका हुन् । जसपा स्रोतका अनुसार उपेन्द्र यादवले त्यही भएर रामसहायलाई उपराष्ट्रपति बनाउन चाहेका छन् ।
रामसहाय अध्यक्ष यादवसँग निकट मानिन्छन् । यही निकटताको कारण अध्यक्ष यादवले रामसहायलाई जसपाको संसदीय दलको नेतासमेत बनाएका छन । जबकि यादवपछि जसपामा वरिष्ठतम नेता अशोक राई थिए । तर अध्यक्ष यादवले राइलाई पन्छाएर रामसहायलाई संसदीय दलको नेता समेत बनाएका थिए ।
जसपाले उपराष्ट्रपति पद पाउने निश्चित भएपछि जसपाका अर्का सांसद नवलकिशोर साहले इच्छा देखाए पनि उपेन्द्रले बारा २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिने इच्छा देखाएपछि उनी चुपचाप छन् ।
यसअघि नै अध्यक्ष यादवले त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलका शीर्ष नेताहरूसँग छलफल गरिसकेका छन ।
आफु सरकारमा जान नपाए पछि उपेन्द्र यादवले एमाले–माओवादी केन्द्र नेतृत्वको गठबन्धनसँग असन्तुष्ट देखाउदै जसपाबाट कसैलाई सरकारमा समेत पठाएका थिएनन् ।
शक्ति बाँडफाँटमा एमाले अध्यक्ष केपी शर्मा ओली तथा प्रधानमन्त्री प्रचण्डले जसपालाई पूरै बेवास्ता गरेपछि उनी चिँढिएका थिए ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा अन्तिम समयमा उपेन्द्र तत्कालीन पाँच दलीय गठबन्धनबाट बाहिरिएर एमालेसँग सहकार्य गरेका थिए ।
एमालेसँगको सहकार्यबाट जसपालाई फाइदा नभएको, उल्टै एमालेले फाइदा उठाएको निष्कर्ष जसपाका नेताहरूले निकालेका थिए ।
पछिल्लो समय एमाले र माओवादी केन्द्रबीचको सम्बन्धमा खटपट हुन थालेपछि उपेन्द्र एमालेसँग टाढिँदै गएर आठ दलीय गठबन्धनमा सहभागी भई उपराष्ट्रपति पद सुरक्षित गरेका हुन् । जसले उपेन्द्र यादवलाई समेत संसद र सरकारमा जाने वाटो खुल्ला गरेका छन ।