सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज ठप्प – Madhesh Update

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज ठप्प

   March 13, 2023  

जनप्रतिनिधिहरूले कर्मचारीलाई चरित्रहत्या तथा अभद्र व्यवहार गर्ने गरेको आरोप लगाउँदै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारीहरूले नगरपालिकाको सेवा ठप्प बनाएका छन् ।

जनप्रतिनिधिहरुले सार्वजनिक कार्यक्रममै कर्मचारी असक्षम रहेको भनी टिप्पणी गर्दै कर्मचारीको चरित्रहत्या गरेको, जनप्रतिनिधिहरूको समूहले फागुन २५ गते कार्यालय प्रमुख चढ्ने गाडीका चालकलाई डरधाक देखाई चाबी खोसेर नगर उपप्रमुखको जिम्मा दिएको तथा कार्यालय समयमै कार्यरत कर्मचारीहरूलाई अभद्र व्यवहार गर्ने गरेकाले आफूहरू सेवा ठप्प पार्न बाध्य भएको कर्मचारीहरूले आरोप लगाएका छन् ।

सक्षम एवं नियमानुसार आफ्नो दायित्व बहन गर्ने कर्मचारीहरूमाथि बारम्वार गलत मनसाय राखी कर्मचारीहरूको मनोबल गिराउने तथा हतोत्साहित पार्ने कार्य तुरुन्त बन्द गरी आफूहरूले राखेको पाँच बुँदे सर्त पालना हुने प्रतिबद्धता नभएसम्म विद्यालय र स्वास्थ्य संस्थाबाहेकका सबै सेवा स्थगित रहने कर्मचारीहरूद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारीसम्बन्धी कुनै गुनासो भए त्यसको सुधारका लागि कार्यालय प्रमुखलाई जानकारी गराउने वा कार्यपालिका बैठकमा औपचारिक एवं तर्कसंगत रुपमा स्पष्टीकरण लिने, प्रशासनलाई पूर्ण रुपमा राजनीतिक हस्तक्षेपरहित बनाउनुपर्ने, कार्यालय प्रमुख चढ्ने गाडीको चाबी अविलम्ब सम्पूर्ण कर्मचारीहरूको रोहबरमा फिर्ता गर्नुपर्ने सर्त कर्मचारीहरूको रहेको छ ।

यस्तै कर्मचारीहरूको सवालमा कानुनविपरीतका प्रसंग ल्याई हतोत्साहित गर्ने कार्य बन्द गर्नुपर्ने, कर्मचारीहरू उपर गरिने अभद्र व्यवहार रोकिनुपर्ने तथा कर्मचारी र जनप्रतिनिधिबीच सम्बन्ध सुधार गरी सहज परिवेशमा कार्य सम्पादन हुने वातावरण गर्नुपर्ने सर्त पनि कर्मचारीहरूले राखेका छन् ।

हनुमाननगर कंकालिनी नगरप्रमुख वीरेन्द्र माझीले कर्मचारीहरूले संयुक्त रुपमा पाँचबुदे सर्त राखी आफूलाई लिखित रुपमा जानकारी गराएको र समस्या समाधानका लागि सोमबार छलफलको कार्यक्रम राखिएको जानकारी दिए ।