उपराष्ट्रपति निर्वाचनका लागि जसपाका दुुई, जनमतवाट एक सहित चार जनाको उम्मेदवारी – Madhesh Update

उपराष्ट्रपति निर्वाचनका लागि जसपाका दुुई, जनमतवाट एक सहित चार जनाको उम्मेदवारी

   March 12, 2023  

निर्वाचन आयोगले आइतबार साँझ उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ। आयोगले शनिबार उम्मेदवारी मनोयनको समय तोकेको थियो। आयोगको उम्मेदवारी दर्ताको समयमा जसपाकै दुई जनाको उम्मेदवारी परेपछि धेरैले उम्मेदवारी फिर्ता लिने समयमा एक जनाको उम्मेदवारी फिर्ता हुन्छ भन्ने आकलन गरेका थिए। तर त्यसो भएन।

आयोगले आइतबार साझ सार्वजनिक गरेको अन्तिम नामावलीमा जसपाका रामसहाय यादव र प्रमिला कुमारी यादव दुवै जना उपराष्ट्रपति पदका लागि उम्मेदवार कायम भएका छन्। यसका साथै जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्यको नाम पनि छ। यससँगै अब उपराष्ट्रपतिका लागि चार जना मैदानमा छन्।

यसअघि निर्वाचन आयोगले निकालेको वक्तव्यमा त्रसित भएको जसपाले कतै आफ्ना पुरुष उम्मेदवारको उम्मेदवारी अस्वीकृत त हुने होइन ? भन्ने आशंकाका कारण प्रमिला कुमारीलाई वैकल्पिक उम्मेदवारका रुपमा अघि सारेको थियो। जसपाका यादवविरुद्ध एमाले र जनमत पार्टीले उम्मेदवारी खारेजीको माग गर्दै उजुरीसमेत दिएको थियो।

तर निर्वाचन आयोगले भने आइतबार रामसहाय यादवको उम्मेदवारी कायमै राख्ने निर्णय गरेपछि जसपाकै दुईसहित उपराष्ट्रपतिका लागि अब चार जना मैदानमा छन्।

यादवको उम्मेदवारी कायम भएको खण्डमा प्रमिला कुमारीले फिर्ता लिने जसपाकै कतिपय नेताहरुले संकेत गरेका थिए। तर त्यसो हुन सकेन। यसबारे जसपाले आइतबार दिउँसो पार्टी कार्यालयमा औपचारिक छलफलसमेत गरेको थियो। दुईमध्ये एक जनाको उम्मेदवारी फिर्ता लिने भनिए पनि तोकिएको समयसम्म जसपाले उम्मेदवारी फिर्ता लिन सकेन।

प्रमिला कुमारीलाई फिर्ता लिन लाउँदा बाहिर नराम्रो सन्देश जाने भएका कारण पनि फिर्ता लिन तोकिएको अवधिसम्म जसपा मौन बसेको एक नेताले बताए। अब जसपाले प्रमिला कुमारीलाई विज्ञप्ति जारी गर्न लगाएर यादवलाई समर्थन गरेको प्रचार गर्ने रणनीति लिएको बुझिएको छ।

जसपाका नेता राजकिशोर यादवले पार्टीको औपचारिक उम्मेदवार रामसहाय यादव भएकाले अन्य उम्मेदवारको हकमा पार्टी बोलीराख्नुपर्ने अवस्था नै नभएको बताए। ‘हाम्रो औपचारिक उम्मेदवार रामसहाय यादवजी हुनुहुन्छ’, उनले भने, ‘‘अन्य उम्मेदवारहरुको बारेमा पार्टीले किन बोल्नुपर्‍यो।’

यादवले यसो भने पनि जसपा नेतृत्वले आन्तरिक छलफल गरेरै दुइटै उम्मेदवारी दर्ता गराएका थिए। र अब पार्टी नेतृ प्रमिला कुमारी यादवको उम्मेदवारी पनि निष्क्रिय गराउने रणनीतिमा पार्टी नेतृत्व रहेको देखिन्छ।