जनकपुरमा चुरे तथा वनजंगल संरक्षण अभियन्ताले घेरे प्रदेश मन्त्रालय

चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुले मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय घेराउ गरेका छन्। विभिन्न ५ बुँदे मागसहित १७ दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका अभियन्ताहरुले मन्त्रालय घेराउ गरेका हुन्।
धर्नामा बसेको दुई साता बितेपनि तीनै तहको सरकारले बेवास्ता गरेको भन्दै आइतबार जनकपुरधाममा प्रदर्शन गर्दै चुरे तथा वनजंगल संरक्षण अभियान्ताहरु मन्त्रालय घेराउ गर्न पुगेका थिए। मन्त्रालय घेराउ गर्न पुगेकासँग मन्त्री वसन्त कुशवाहाले छलफल गरे।
आन्दोलनकारीले ५ बुँदे माग सम्बोधनका लागि मन्त्रीसमक्ष प्रस्ताव राखे। तर कुशवाहाले यी माग यहाँबाट पूरा हुन नसक्ने बताएका थिए। मन्त्रीको जवाफपछि आन्दोलनकारी झन क्रुद्ध बनेका थिए।
चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव आक्रोशित हुँदै मन्त्रीसँग भूमि व्यवस्थाको अधिकार हुँदाहुँदै पनि केही गर्न नसक्ने बताउनु निक्कमापन रहेको आरोप लगाए।
उनले निर्वाचनका क्रममा सुकुम्बासी तथा पीडित जनताका समस्या प्रति गम्भिर नरहेको आरोप समेत लगाए।
यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहाले सुकुम्बासीहरुका लागि जग्गा आवश्यक रहेको र मन्त्रालयको मातहत यो अधिकार नरहेकाले यहाँबाट उनीहरुको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिए। यद्यपि भूमि आयोगमा यसका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
धर्नास्थलमै खाना पकाउने, खाने, बस्ने र सुत्नेसम्म गरेका सुकुम्बासीहरुको अहिलेसम्म कसैले नसुनेको गुनासो छ। लामो समयदेखि आन्दोलन, धर्ना, अनसन गर्दै आएका सुकुम्बासी अभियानीहरु लामो समयदेखि धर्नास्थललाई बासस्थान बनाएका छन्।
चुरे तथा वन जंगल संरक्षण अभियान र मधेस प्रदेश सरकार विगतमा भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने लगायतका मागहरु अगाडी सार्दै आईरहेका छन्।
भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने भन्दै सुकुम्बासी आन्दोलनकारीहरु फागुन ११ गतेदेखि नै धर्नामा बसेका छन्।
यता आन्दोलनकारीहरुले तीनै तहको सरकार बिरुद्ध नारावाजी गर्दै जनकपुरधामको भ्रमरपुरा चोकमा आधा घण्टा चक्का जाम समेत गरेका छन्।
आफूहरुको माग सम्बोधन नभए चक्का जामको समयावधि दैनिक बढाउँदै जाने र यो भन्दा पनि सशक्त आन्दोलन गर्ने चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक यादवले चेतावनी दिए।