१ सय ३३ किलोमिटर लामो मिथिला मध्यमा परिक्रमा सुरु

विश्वकै सबैभन्दा लामो धार्मिक पद यात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा सुरु भएको छ। फागुन अमावश्याका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मूल डोला सञ्चालन गर्ने परम्परा रहेको छ। सो डोलामा सीतारमको मूर्ति सजाएर परिक्रमा गर्ने गरिन्छ।
मिथिला बिहारीको डोला तथा जनकपुरधामस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि मध्यमा परिक्रमाको विधिवतरुपमा शुरुवात गर्ने परम्परा रहेको छ।
कचुरी मठबाट निकालिएको मिथिला विहारीको डोला आज जनकपुरधामस्थित हुनमान नगरमा विश्राम गर्नेछन्। परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु मंगलबार बिहान पुजा अर्चना गरेर भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्ने छन्।
नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन्।
सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर परिक्रमा जनकपुरधाम फर्केर विश्राम गर्छन्।
फागुन पुर्णिमाका दिन परिक्रमामा सहभागीहरु जनकपुरधामको परिक्रमा अर्थात अन्तगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्दछन्। परिक्रमामा सहभागी श्रद्धालुहरु नेपालको १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा गर्छन्।