अम्लेखगञ्ज–रक्सौल रेल्वेको जग्गामा करिडोरका उद्योगहरुको रजाइँ – Madhesh Update

अम्लेखगञ्ज–रक्सौल रेल्वेको जग्गामा करिडोरका उद्योगहरुको रजाइँ

   February 20, 2023  

अम्लेखगञ्ज–रक्सौल रेल्वेको सयौँ बिगाहा जग्गा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुले अतिक्रमण गरेर भोगचलन गरेका छन् । अम्लेखगञ्जदेखि वीरगञ्जसम्मको ३९ किलोमिटर क्षेत्रको १ हजार ७४९ बिगाहा जग्गा दर्जनौं उद्योगले अतिक्रमण गरेर भोगचलन गरेका हुन् ।

सो जग्गामा डाबर नेपाल बहुराष्ट्रिय कम्पनीदेखि साना उद्योगहरुले संरचना बनाएका छन् भने केही उद्योगीले मालपोत र नापी कर्मचारीहरुसँगको मिलेमतोमा रेल्वेको जग्गा उद्योगको नाममा समेत कायम गरिसकेको स्रोतले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगर वडा नं २३ का पूर्व वडाध्यक्ष अस्लम देवनले आफ्नो वडामा मात्रै डाबर नेपाल बहुराष्ट्रिय कम्पनी, नारायणी लेदर, मल्लिका कोईला उद्योग, कन्सेफ्ट औषधि उद्योग, ज्योति ग्रुप्रले मात्रै सयौँ बिगाहा जग्गा अतिक्रमण गरेर भोगचलन गरेको बताए ।

हाम्रो वडामा बारा पर्सा करिडोरबाट ३० देखि ३५ फुटसम्म जग्गा उद्योगहरुले कब्जा गरेका छन्, केही जग्गामा व्यक्तिको घर पनि छ,’ देवनले भने, ‘रेल्वेको जग्गाको नक्सा काटेर केही उद्योगले त व्यक्तिको नाममा पुर्जा बनाएको चर्चा छ ।’

अम्लेखगञ्ज–रक्सौल रेलमार्गको लिक जीतपुर गढीमाई मन्दिरसम्म पूर्वपट्टी र जीतपुरदेखि पश्चिमतर्फ हुँदै गएको छ । साविक सिमराप्रिपा गाँउ पञ्चायतका तत्कालीन प्रधानपञ्च मुकुन्द बहादुर क्षेत्रीले रेल्वेको संरचना व्यक्ति र उद्योगको अतिक्रमणमा परेको गुनासो गरे ।

अम्लेखगञ्जदेखि पूर्वपट्टी हुलास, अशोक स्टिल, कत्था मिल हुँदै जीतपुर गढीमाई मन्दिरदेखि पश्चिमपट्टी नारायणी लेदर, डाबर नेपाल, नारायणी रोलिङ मिल्स, नेशनल फर्मासिटिकल्स, गोदावरी आयल्स, नारायणी इन्साफट, राहुल आयल लगायतका दर्जनौँ उद्योगले रेल्वेको जग्गा अतिक्रमण गरेर भोगचलन गरेको तत्कालीन प्रधानपञ्च क्षेत्रीले जनाए ।

यसअघि माघ ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुरसिमरा उपमहानगरसहित जिल्ला प्रशासन कार्यालय बारा र पर्सालाई पत्राचार गरेर रेल्वेको १ हजार ७४९ बिगाहा जग्गा संरक्षण गर्न र सो क्षेत्रमा बनेका संरचना खाली गर्न निर्देशन दिएको थियो ।

एक महिनाअघि आयोगले दिएको निर्देशनको विषयमा स्थानीय तह र प्रशासन दुवै मौन देखिएका छन् ।