प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले पाएनन् दुुई महिनाको तलब – Madhesh Update

प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले पाएनन् दुुई महिनाको तलब

   February 20, 2023  

जनकपुरस्थित प्रादेशिक अस्पतालका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । प्रादेशिक अस्पतालको विकास समितितर्फका ३ सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् ।

मधेस सरकारले गठन गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २०७८ चैत ६ मा प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण गरिएको थियो । अस्पतालको सम्पूर्ण चल अचल सम्पति प्रतिष्ठानको मातहतमा गए पनि विकास समितितर्फका कर्मचारीको जिम्मेवारी वहन गर्न प्रतिष्ठानले आनाकानी गरेको कर्मचारीहरूको आरोप छ । ‘संघीय सरकारको दरबन्दीका स्वास्थ्यकर्मी तलब–भत्ता खान्छन् । तर, प्रतिष्ठानका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्,’ नेपाल चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा रामजीराय यादवले भने, ‘प्रदेश सरकारका कारण अस्पताल झन् धराशायी बनेको छ ।’ दुई वर्षअघि कोभिड विशेष अस्पतालमा काम गरेका करिब १ सय स्वास्थ्यकर्मीले पनि अझै तलब–भत्ता नपाएको उनले बताए ।

मधेस सरकारले ०७७ कात्तिक २५ गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेको थियो ।