पार्टी संरचना पुर्नगठन गर्ने बारेमा जनमत पार्टीमा छलफल सुरु – Madhesh Update

पार्टी संरचना पुर्नगठन गर्ने बारेमा जनमत पार्टीमा छलफल सुरु

   February 14, 2023  

सोमबार सम्पन्न जनमत पार्टीको केन्द्रीय कार्यकारी बैठकमा पार्टी संगठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरुको पुनर्गठनका साथै संघीय परिषद् र प्रादेशिक समितिहरूको गठनबारे छलफल भयो।

तीन दिन चलेको बैठकमा निर्वाचनबाट शक्ति आर्जन गरेपछि अगाडि बढ्ने रणनीतिबारे छलफल चलेको जनमत पार्टीको सचिवालयले जनाएको छ। सचिवालयले जारी गरेको विज्ञप्तिमा माघ २८ देखि फागुन १ गतेसम्म चलेको बैठकमा समग्र पार्टी रणनीतिदेखि निर्वाचनसम्मको गहिरो समीक्षा भएको जनाइएको छ।

बैठकले घरघर जनमत अभियान, जनमत प्रवेश महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन, जिल्ला इन्चार्जहरूको नियुक्ति फेरबदल, जिल्ला अधिवेशनको तयारीबारे पनि छलफल गरेको जनाइएको छ।

पार्टीको मुख्य संरचनासँगै जनमतले भ्रातृ संगठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्पडेस्क व्यवस्थापनबारे समेत छलफल अघि बढाएको जनमत पार्टीले जनाएको छ।

यसका साथै पार्टी प्रवेश गर्न चाहने अरु पार्टीका राष्ट्रिय तथा जिल्ला स्तरका नेताहरूलाई यथाशीघ्र प्रवेश गराउने त्यसको लागि संयन्त्र निर्माण गरिने जनमतले निष्कर्ष निकालेको छ।
यद्यपि, पार्टी छोडेर गएका नेताहरूलाई पुनः प्रवेशमा कडाइ गर्ने निष्कर्ष यो पार्टीको छ। बैठकले पार्टी छोडेर गएका नेता तथा कार्यकर्ताहरूलाई पुनः प्रवेश गरेको खण्डमा ६ वर्षसम्म कुनै पनि लाभको पदमा वा निर्वाचनमा सहभागी हुन नदिने निष्कर्ष निकालेको जनमत पार्टीको सचिवालयले जनाएको छ।

साथै निर्वाचनको क्रममा अन्तर्घात गरेका, खुला वा छद्म रूपमा अन्य पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदवार बनेका सदस्यहरूमाथि कडा कारबाहीको तयारी समेत जनमत पार्टीले गरेको छ।