सप्तरीमा ऋणको तनाव सहन नसकेर महिलाले गरिन् आत्महत्या – Madhesh Update

सप्तरीमा ऋणको तनाव सहन नसकेर महिलाले गरिन् आत्महत्या

   February 14, 2023  

सप्तरीमा ऋण तिर्न नसकेर फेरि एकजनाले आत्महत्या गरेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेल पासोमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए।

शान्ताले विभिन्न लघुवित्त र साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि दिनैपिच्छे तनाव दिएका कारण मृत्यु रोजेकी स्थानीय बताउँछन्। भुजेल परिवारको सम्पतिको नाममा रहेको १० धुर घरघडेरी पनि एक वर्षअघि एकजना साहुको नाममा पास गरी ऋण लिएका थिए।

घटनास्थलबाट फर्किएकी कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले ऋणकै कारण तनावमा आएर शान्ताले आत्महत्या गरेको स्थानीयले बताएको जानकारी दिइन्।

गत असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरमै पुगेर सबै सामान लगेपछि उनी निकै तनावमा रहँदै आएकी थिइन्।

शान्ताका तीन छोरा छोरी छन्। दुई छोरीको बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन्। बुहारी माइतमा छिन्। भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए।

गत पुस १० मा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिकले ऋण तिर्न नसकेर आत्महत्या गरेका थिए।