वीरगञ्जमा ई-रिक्सा पल्टिदा १८ महिने शिशुको मृत्यु – Madhesh Update

वीरगञ्जमा ई-रिक्सा पल्टिदा १८ महिने शिशुको मृत्यु

   February 14, 2023  

वीरगञ्ज महानगरपालिकामा भएको सवारी दुर्घटनामा १८ महिने शिशुको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १० पानीट्यांकी बस्ने राजिव कुमार मालीको १८ महिने छोरा रिशव मालीको मृत्यु भएको हो । ई-रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर राजिव पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नं १० टाउनहल नजिकै सडकखण्डमा ना १ ह ३७४० नम्बरको ई–रिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिएको थियो ।

ई-रिक्सामा सवार राजिव र उनको १८ महिने छोरा रिशव मालीको टाउको तथा नाकमा चोट लागेको थियो ।

१८ महिने छोरा रिशव मालीको नेशनल मेडिकल कलेजमै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीले वीरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।