मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउँछौ -शिक्षामन्त्री महेश यादव
मधेश प्रदेश सरकारको शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउन प्रदेश सरकारले अभियान सुरु गर्न लागेको बताएका छन् ।
राजविराज नगरपालिका ६ स्थित श्री आधारभूत विद्यालय थानगाछीको विहीबार स्वर्ण जयन्ती तथा शिक्षक विदाई समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका छन् । उनले मधेश प्रदेश अशिक्षित प्रदेशको रुपमा परिचित रहेकाले यसलाई पूर्ण साक्षर प्रदेश बनाउन अभियान चलाउन लागेको जानकारी दिए ।
सरकारको बजेटको ठूलो खर्च भइरहेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अस्तव्यस्त रहेकाले आवश्यक नीति बनाएर व्यवस्थित गर्ने कार्य अधि बढाएको उल्लेख गर्दै उनले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक प्रविधिको विकास गर्न लागिएको बताए । आफ्ना विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गर्दै मन्त्री यादवले अब अभियान अन्तर्गत आफ्नो विद्यार्थी पढिरहेको छ वा छैन्, गुणस्तरीय शिक्षा पाइरहेको छ वा छैन् त्यसबारे पनि क्रसचेक समेत गर्न सुझाव दिए ।
विद्यालयहरुको भौतिक संरचनासँगै सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रदेश सरकार तयार रहेको उनको भनाई छ । थानगाछी विद्यालयसम्म पुग्ने बाटो बनाउन तत्काल आफ्नो संसदीय कोषबाट बजेट उपलब्ध गराउने, विद्यालयमा फर्निचर र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।