धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षद्वारा कर्मचारीमाथि हातपात – Madhesh Update

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षद्वारा कर्मचारीमाथि हातपात

   February 9, 2023  

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन्।गाउँपालिका अध्यक्ष जयकुमार यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठों तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नवीन कुमार साहमाथि हातपात गरेको आरोप लगाइएको छ ।

विगत एक महिनादेखि हाजिरी गर्न नदिइएको विषयलाई लिएर गाउँपालिकाको कार्यालयमा विवाद भएपछि अध्यक्ष यादवले हातपात गरेको कर्मचारी बताउँछन् । कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार दासले मनोमानी गर्दै आइरहेको आरोप लगाएका छन्।

लेखा परीक्षक साहले बुधबार गाउँपालिका अध्यक्ष यादवसहित निमित्त प्रमुख प्रशासकीय दास र एकजना कार्यपालिका सदस्यका पति लक्ष्मी यादव तथा अध्यक्ष यादवका बाउन्सर भरत महतोले आफूहरुमाथि कुटपिट गरेको बताए। गाउँपालिका अध्यक्ष यादवले मनोमानी तरिकाले कार्यालयको हाजिरी रजिष्टर आफ्नो कार्यकक्षमा राखेको र उनको अगाडि पछाडि गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिइएको लेखाका कर्मचारी साहले बताए । उनले बुधबार आफूहरु हाजिरी गर्न जाँदा हाजिरी गर्न नदिएर उल्टै आफूहरुमाथि हातपात गरेको दुःखेसो गरे।

अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन्। उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको गुनासो बताएका छन्। घटना भएको केही बेरपछि अध्यक्ष यादव र निमित्त प्रशासकीय अधिकृत दास कार्यालय बाहिर गएका थिए ।