रौतहटमा पप्पु कन्स्ट्रक्सनले फेरि अधुरै छाडे पुल निर्माण, बैंक ग्यारेन्टी जफत – Madhesh Update

रौतहटमा पप्पु कन्स्ट्रक्सनले फेरि अधुरै छाडे पुल निर्माण, बैंक ग्यारेन्टी जफत

   February 9, 2023  

ठेक्का रद्द भए पनि रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलिया नदीमा पुल बलजफ्ती निर्माण थालेको पप्पु कन्स्ट्रक्सनले कामदार फिर्ता लगेको छ । कामदार फर्किएपछि पुलको काम रोकिएको छ । पुल बनाउन पप्पुले उच्च अदालत वीरगन्जमा मागेको अन्तरिम आदेश खारेज भएपछि सडक कार्यालयले पप्पुको बैंक ग्यारेन्टी जफत गरेको छ ।

टिकुलिया घाटमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले ३ वर्षभित्र निर्माण काम पूरा गर्ने ०७१ असार २९ मा सम्झौता गरेको थियो । निर्माणको काम बीचैमा छाडेर पप्पु सम्पर्कविहीन भए । काम अलपत्र परेपछि सडक डिभिजन कार्यालय रौतहटले पटक–पटक पत्र पठाएर काम थाल्न अनुरोध गरे पनि कुनै सुनवाई नगरेपछि सडक कार्यालयले ठेक्काको म्याद थप गरेन् ।

ठेकेदारले सम्झौताअनुसार काम नगरेको, लिखित, मौखिक ताकेता गर्दा बेवास्ता गरेकाले सम्झौताको सर्त विपरित गएको भन्दै जेठ १० गते ठेक्का रद्द गर्‍यो । त्यसपछि ठेक्का रद्दका लागि अन्तरिम आदेश जारी गराउन पप्पुले उच्च अदालत वीरगन्जमा मुद्दा दायर गर्‍यो । अदालतले ठेक्का रद्दको प्रक्रिया यथावत राख्न भन्दै अन्तरिम आदेश दियो । त्यही आदेश टेकेर पप्पु फेरि पुलको निर्माण थाल्यो ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले अदालतले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले दिएको मुद्दाको अन्तरिम आदेश खारेज गरेकाले अब नयाँ ठेक्काको लागि बाटो खुलेको बताए । ‘ठेकेदारले ठेक्का सकार गर्नेबेला राखेको बैंक ग्यारेन्टीसमेत जफत गरिसकेका छौं,’ साहले भने ।

अदालतमा मुद्दा चल्दै गर्दा सडक कार्यालयलाई खबरै नगरी एकलौटीढंगले पप्पुले साइडमा काम गर्दै आएको थियो । अहिले उसले काम बन्द गरेको छ । साइडमा पप्पुले राखेको डन्डी र मेसिन त्यतिकै अलपत्र छ । साइड सुनसान छ । तत्कालिन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आव्हान गरेको थियो । पप्पुले उसैबेला १४ करोड ९३ लाखमा टेन्डर सकार गरेको थियो ।
ठेकेदारले बिनाकारण बीचमै काम छाडेर गएपछि पुल अलपत्र छ । ठेक्काको सम्झौता ०७४ असार २५ मा सकिएको थियो । ठेकेदार कम्पनीका प्राविधिक जमुना यादवले अदालतको आदेशकै भरमा काम गरेको बताउँदै आएका थिए ।