मधेश कृषि विश्वविद्यालयमा करोडौ भ्रष्टाचारको चलखेल – Madhesh Update

मधेश कृषि विश्वविद्यालयमा करोडौ भ्रष्टाचारको चलखेल

   February 8, 2023  

मधेश प्रदेश सरकारले सप्तरी जिल्लाको राजविराजमा स्थापना गरेको मधेश कृषि विश्वविद्यालयमा हुन लागेको झण्डै डेढ अर्बको ठेक्कामा व्यापक भ्रष्टाचारका लागि चलखेल सुरु भएको छ ।

भवन निर्माण र प्रयोगशाला (ल्याब) का लागि उपकरण खरिद गर्न १ अर्ब ४९ करोड रकम विनियोजन गरिएको छ । भवन निर्माणको डीपीआर अन्तिम चरणमा पुगेको बताइएको छ । ल्याबका लागि चाहिने आवश्यक सामग्रीहरुको सूची तयार भइरहेको छ । सामाजिक विकास मन्त्रालयमा चरम भ्रष्टाचार गरेकाले सो ठेक्कामा अनुकूलको स्पेसिफिकेशन डीपीआरमै राख्न चलखेल सुरु गरेका छन् । भवन निर्माणको डीपीआरमा नै एकजना ठेकेदारलाई अनुकूल हुनेगरी स्पेसिफिकेशन राख्न विश्वविद्यालयका उपकुलपतिमाथि दबाब दिन थालेको स्रोतले जनाएका छन् ।

उपकुलपति वैद्यनाथ महतोमाथि ईपीसी मोडेलमा खरिद प्रक्रियालाई अगाडि बढाउन दबाब दिन थालिएको स्रोतले जनाएका छन् । मधेश प्रदेश सरकारबाट बजेट सुनिश्चित भइसकेकाले ठेक्का प्रक्रियामा चलखेल सुरु भएको बताइएको छ । स्रोतहरुका अनुसार ईपीसी मोडेलमा खास ठेकेदार कम्पनीलाई अनुकूल हुने गरी स्पेसिफिकेशन राखिन्छ । त्यसका लागि उपकुलपति महतोमाथि व्यापक दबाब बढाउन थालिएको छ । उपकुलपति महतोले डीपीआरको काम भइरहेको स्वीकारे पनि बजेट आइनसकेको बताए । ‘प्रदेश सरकारले भवन र ल्याव उपकरण खरिदका लागि बजेट सुनिश्चित गरिसकेको छ’ उनले भने, आवश्यक ल्याव उपकरणको सूची बनाउने र भवन निर्माणका लागि डीपीआरको काम भइरहेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्री सुरिता साह बने देखि मन्त्रालयको काममा सुमित साहले चलखेल गर्न थालेको बताइएको छ । विगतमा उनका पिता नवलकिशोर साह सामाजिक विकास मन्त्री रहे पनि निवासबाट नै साहले मन्त्रालय चलाएका थिए । उनले स्वास्थ्यमा भारी भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

तत्कालीन सामाजिक विकास मन्त्रालयको दर्जन बढी फाइलहरु अख्तियार दुरुपयोग अनुसन्धानमा रहेको छ । स्वास्थ्य क्षेत्रमा औषधि लगायत उपकरण खरिदमा समेत व्यापक अनियमितता गरेको आरोप लागेका साहले कर्मचारी भर्नामा समेत मोटो रकम असुलेको आरोप छ । मधेश प्रदेशमा सर्वाधिक भ्रष्टाचार भएको सामाजिक विकास मन्त्रालय रहेको आरोप छ । त्यस मध्ये स्वास्थ्य क्षेत्रमा खरिद र भर्ना दुबैतर्फ ब्रम्हलुट गरिएको बताइन्छ । छायाँ मन्त्रीको रुपमा रहेका मन्त्री पुत्र साहले मधेश कृषि विश्वविद्यालयमा गिद्धे दृष्टि लगाएका छन् । उनले नै उपकुलपति नियुक्तिमा सशुल्क भूमिका निर्वाह गरेकाले आफ्नो अनुकूल ठेक्का र खरिद गराउन चलखेल सुरु गरेका छन् । स्रोतका अनुसार डीपीआरमा समेत उनले कमिसन माग्न थालेका छन् । डीपीआर गर्नेको भुक्तानीमा कमिसन थाप्ने साहले स्पेसिफिकेसनका लागि समेत दबाब दिइरहेको स्रोतले जनाए । तर उपकुलपति महतोले कुनै हालतमा साहको प्रभावमा नपर्ने अडानमा छन् । ‘कुनै प्रकारको सेटिंग हुने अथवा खास व्यक्तिलाई मात्र लाभ पुग्ने गरी कुनै काम हुने छैन् ’ उनले भने, सबै काम पारदर्शी र रितपूर्वक मात्र हुनेछ । यद्यपि उनले डीपीआरको बजेट र कन्सल्टेन्ट बारे खुलाउन चाहेनन् ।

हुनत सामाजिक विकास मन्त्रालयबाट शिक्षालाई अलग्याएर सरकारले उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयमा शिक्षालाई गाभेको छ । शिक्षा अन्तर्गत विश्वविद्यालय रहेको र सो मन्त्रालयमा जनमत पार्टी संसदीय दलका नेता महेश यादव मन्त्री रहेका छन् । साहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि ईपीसी प्रक्रियाबाट गराएको टेण्डरलाई ‘होल्ड’ गरिएको छ । प्रतिष्ठानले क्यान्सर र ह्रदय रोगका लागि १ अर्बको बजेट विनियोजन गरी टेण्डर गरेको थियो । सुमित साहको दबाबमा ईपीसी प्रक्रियाबाट भएको सो टेण्डरलाई ‘होल्ड’ गरिएको प्रतिष्ठानले जनाएको छ । ईपीसी यस अघि औषधि र स्वास्थ्य उपकरणहरु खरिद विरुद्ध अख्तियारमा उजुरीहरु परेका छन् ।