सप्तरीमा न्यायाधीशलाई देखियो कोरोना

सप्तरीको उच्च अदालतका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरधामको राजविराज इजलासका न्यायाधीशमा आइतबार कोरोना संक्रमण पुष्टि भएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
आइतबार सप्तरीमा न्यायाधीश, प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए। यस अघि उच्च अदालतका सहसचिव स्तरका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई संक्रमण देखिएको एक साता नबित्दै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो।
यसैबीच आइतबार देशभरि कोरोनाका १ सय ३० जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्। हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा निको हुनेको दर ७०। ५ प्रतिशत रहेको गौतमले बताए।
हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ।
अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्। हालसम्म मृतक ४५ जनामा कोरोनाभाइरस देखिएको छ।