वीरगञ्जमा रात्रि बजार लगाउने तयारीमा मेयर राजेशमान सिंह
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जमा रात्री बजार सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । वीरगञ्जमा आयोजित पर्यटन प्रवर्द्धन तथा पर्यटन सुरक्षामा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
रातिको १० बजेपछि वीरगञ्जका होटलमा प्रहरी पुगेर बन्द गराउने गरिएको प्रति उनले असन्तुष्टि जनाए ।
‘रातिको १० बजेपछि वीरगञ्जका होटलमा प्रहरी पुगेर बन्द गराउँछ । हामी रात्री बजार सञ्चालनको तयारीमा छौं ।’ उनले भने ‘ वीरगञ्ज नाका रातभर खोल्नुपर्छ, दुवै देशका सर्वसाधरणले रातमा पनि आवतजावत गर्न पाउनुपर्छ ।’
त्यसका लागि भारतीय पक्षसँग समन्वय भईरहेको जानकारी उनले गराए । नाईट मार्केटको कन्सेप्टमा छलफल गर्न आएका भारतीय व्यापारीको पासपोर्ट, १ लाख भारु नगद लगायत सामान भएको झोला वीरगञ्जको एक होटलमा बास बसेको ठाउँबाट नै चोरी भएको उनको भनाइ छ ।
वीरगञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरु गरिसकेको बताउँदै उनले वीरगञ्ज आउने भारतीय पर्यटकलाई लक्षित गरेर कामहरु गरिरहेको बताए ।
‘भारतीय पर्यटक दारु मासु खान पैसा लिएर आउँछन्, प्रहरी प्रशासनले ५ वटा दुई हजारको नोट देख्यो भने समातेर भित्र राखिदिन्छ । २० हजार गोजीमा राखेको हुन्छ भने त्यो पनि खोसिदिन्छ ।’ उनले भने ‘ भारतीय पर्यटकलाई प्रहरीले दुःख मात्रै दिएको छ, महानगरले सवारी कर खारेज गरेर उनीहरुको पक्षमा काम गर्न शुरु गरिसकेको छ ।’ संघ सरकारले नाकामा एउटा पर्यटक सूचना केन्द्र समेत नराखेको गुनासो उनले गरे ।
वीरगञ्जलाई राम्रो बनाउन जो जहाँ छन्, त्यहीबाट महानगरले साथ खोजेको उनको भनाइ छ ।
‘होटल व्यवसायी साथीहरु होटलको कोठामा तन्ना चिटिक्क पार्नुहुन्छ तर होटलको फोहोर सडकमा फाल्नुहुन्छ । कोहि चिया खाएर सडकमा कप फाल्छन् । रातुपुल कटेपछि मात्रै चेत खुल्छ ।’ उनले भने ‘भन्सारदेखि पावरहाउससम्म परिवार लिएर जान लाज लाग्छ, सफा वीरगञ्ज बनाउन होटल व्यवसायीको पनि जिम्मेवारी हुन्छ नी । ज्ञापनपत्र, डेलिगेसनले मात्रै चल्दैन, जो जहाँ छ त्यहिबाट सहयोग गर्नुपर्छ ।’