अयोध्यामा निर्माणाधिन राम मन्दिरमा स्थापित गरिने राम मुर्तीका लागी जनकपुर हुँदै लगिँदै देव शिला

कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ ।
शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला आज मन्दिरमा रुद्राभिशेकसहित विशेष पुजा गरी जनकपुर हुँदै अयोध्याका लागि बिदाइ गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । नगर प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका पिठाधीस रामतपश्वेर दासलाई सो शिला हस्तान्तरण गरेपछि बाजागाजा र ¥यालीसहित बेनी बजार परिक्रमा गराई जनकपुरतर्फ पठाइएको हो ।
रामको मूर्ति बन्ने शिलाको दर्शन गर्न सयौँ भक्तजन, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको भीड लागेको थियो । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतिकस्वरुप तीन वटा शालिग्राम हस्तान्तरण गरेका थिए ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि आज श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको नगर प्रमुख केसीले जानकारी दिए ।
हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आउनुभएका राममन्दिर निर्माण समितिका सचिव पङ्कजले बताए । “यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ, शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्”, उनले भने, “अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ ।”
नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई जनकपुर पु¥याएर हस्तान्तरण गर्नेछ । जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने बताइएको छ ।
पुस ३ गते बसेको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो । यसको खोजी म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट सुरु गरिएको थियो । प्राविधिक तथा धार्मिक हिसाबले ठूलो पहिरो नजिकै उपयुक्त शिला फेला परेको हो ।
कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने बेनी–गलेश्वर सडकखण्डअन्तर्गत बेनीको वडा नं ६ ठूलोपहिरो नजिकै कालीगण्डकी नदीको तिरमा १८ टनको क्वाजराइट र १० टनको क्यालसाइट नामक शिला पहिचान गरिएपछि विधिपूर्वक उत्खननको तयारी सुरू गरियो ।
नेपालमा विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइनेछ भने त्यहाँबाट प्रक्रिया पूरा गरी अयोध्या लैजाने म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।