काठमाडौं स्थित भारतीय दुतावासले मनायो गणतन्त्र दिवस – Madhesh Update

काठमाडौं स्थित भारतीय दुतावासले मनायो गणतन्त्र दिवस

   January 26, 2023  

काठमाडौं स्थित भारतीय राजदूतावासले विहिवार भारतको ७४ औं गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमहरुको शुभारम्भ गरेका थिए । कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भारतीय श्रीवास्तवले पढेर सुनाएका थिए ।

सम्बोधनमा माननीय राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद गान्धीजीको “सर्वोदय” वा “सबैको उत्थान” को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गरेकी छिन ।

साथै वहाँले जी–२० मा भारतले पाएको अध्यक्षता सिंगो विश्व र भविष्यलाई अझ राम्रो बनाउन प्रजातन्त्र र बहुपक्षीयतालाई प्रवर्धन गर्ने अवसर भएको पनि बताएकी छिन ।

कार्यक्रममा राजदूत श्रीवास्तवले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ४.६० करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए ।

नेपालका विभिन्न संस्थाहरुलाई पुस्तक वितरण समेत गरिएको थियो । भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा दूतावासले २३ वटा संस्थालाई नेरु १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गरेको छ ।

साथै सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउदै, दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२२ पत्रिकाको लोकार्पण समेत गरेको छ ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुतहरु गरेका थिए ।