धनुषाबाट तीन महिनामा ११ हजार बढी गए वैदेशिक रोजगारीमा – Madhesh Update

धनुषाबाट तीन महिनामा ११ हजार बढी गए वैदेशिक रोजगारीमा

   January 24, 2023  

कोरोना महामारीको संक्रमण कम भएसँगै धनुषाबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या फेरि बढ्न थालेको छ। चालु आर्थिक वर्षको ३ महिना (साउन देखि असोज) सम्ममा ११ हजार ११९ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये ५४ जना महिला रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनाएको छ।

सामी कार्यक्रम धनुषाका कार्यक्रम संयोजक सौरभ कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार आप्रवासी श्रोत केन्द्रबाट परामर्श लिएर ३ हजार १ सय ५४ र रिटर्नी स्वयंसेवकमार्फत १ हजार २ सय ६५ गरी कूल ४ हजार ४ सय १९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

सो संस्थाका अनुसार मृत्यु, उद्धार, एजेन्टबाट ठगिएर गएको, बिरामी तथा उपचारलगायत समस्याग्रस्त १२९ जना, सहजीकरण भइसकेको ४५ जना, शव व्यवस्थापनमा सहजीकरण ६ जना, गन्तव्य मुलुकबाट उद्धार १५ जना, जिल्ला प्रशासन कार्यालय मार्फत ४ जना र स्थानीय स्तरमै सहजीकरण २० जनालाई न्यायमा पहुँच उपलब्ध गराइएको छ भने २ करोड ६० लाख ७३ रुपैयाँ आर्थिक सहायत उपलब्ध गराइएको तथ्यांक छ।

यसअघि गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६ लाख ३० हजार ९० जना वैदेशिक रोजगारीमा गएकोमा धनुषाबाट सबभन्दा बढी २२ हजार १७५ पुरुष र १९ हजार ११८ महिला गरी कूल ४१ हजार २९३ जना रहेका थिए। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ११ गुणा बढी हो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको तथ्यांक छ।