पर्साको विरगंज सुधारगृहमा क्षमताभन्दा दोब्बर बालक – Madhesh Update

पर्साको विरगंज सुधारगृहमा क्षमताभन्दा दोब्बर बालक

   January 22, 2023  

मधेस प्रदेशको एकमात्र वीरगन्जस्थित बाल सुधारगृह क्षमताभन्दा दोब्बर बालक–किशोरका कारण अस्तव्यस्त बनेको छ । ६० जनाको क्षमता भएको गृहमा बुधबार १ सय २८ बालक तथा किशोर थिए ।

गृहका साना ठूला ११ कोठामध्ये सानामा १२ देखि १४ जना र ठूलोमा ३० देखि ३१ जनालाई कोचाकोच गरी राखिएको छ । उनीहरू पर्सादेखि सप्तरीसम्मका अदालतबाट कानुनी विवादमा परेर पुर्पक्ष तथा कैद सजायका लागि पठाइएका हुन्, जसमध्ये ९ जना भारतीय छन् । गृहमा रहेकामध्ये करिब ४ दर्जन मुद्दा विचाराधीन वा फैसला भइसकेको अवस्थामा त्यस्ता मुद्दामा सुधार गृह पठाइएकाहरू १८ वर्षभन्दा माथि उमेर पुगिसकेका पनि छन् ।

करिब डेढ कठ्ठा क्षेत्रफलमा फैलिएको बालगृहमा बालबालिका उकुसमुकुसपूर्ण दैनिकी बिताउन बाध्य छन् । २०७५ भदौदेखि सञ्चालित बालगृहमा हाल आश्रितमध्ये ४१ जबरजस्ती करणीका, २० जना लागूऔषध मुद्दाका, १० सवारीज्यान मुद्दाका र ७ अपहरण शरीरबन्धक मुद्दाका छन् । अन्य भने चोरी, कर्तव्य ज्यानलगायतका मुद्दाका छन् । केही बालबालिका भने मानव बेचविखन तथा ओसारपसार, खोटा चलन, नेपाली नागरिकता उद्योग र बालविवाह मुद्दाका पनि छन् ।

उनीहरू आधारभूत शिक्षाबाट पनि वञ्चित छन् । बालबालिकासम्बन्धी ऐन २०७५ मा व्यवस्था भएअनुरूप गृहमा विद्यालय छैन । एक स्टाफ नर्सको दरबन्दी छ । घनाबस्तीको बीचमा रहेको गृहका लागि भवन संरचना अपुगसमेत छ । विगतमा यहाँ अनाथालयको रूपमा सञ्चालित छ । बालगृह प्रमुख टीकाकृष्ण काफ्ले क्षमताभन्दा दोब्बर बढी बालक तथा किशोर राखिँदा गृहको व्यवस्थापनमै समस्या भइरहेको बताउँछन् । ‘गर्मी मौसममा ससाना कोठामा धेरै जना कोचिएर बस्दा श्वासप्रश्वासमा समस्या, ज्वरो, हातखुट्टा सुन्निनेजस्ता समस्या देखिने गरेको छ,’ उनले भने, ‘गृहमा आश्रित बालक तथा किशोर बिरामी परे यहाँबाट रेफर गरेर सुविधासम्पन्न अस्पतालमा लग्ने व्यवस्था हालसम्म महिला तथा बालबालिका मन्त्रालयले नमिलाउँदा समस्या भइरहेको छ ।’