मधेस प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश सभाका सबै सांसदले दिए विश्वासको मत – Madhesh Update

मधेस प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश सभाका सबै सांसदले दिए विश्वासको मत

   January 18, 2023  

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्री यादवलाई प्रदेश सभाका सबै सदस्य (सांसद) ले विश्वासको मत दिएका छन्।
बुधबार प्रदेश सभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा १०२ सांसद उपस्थित थिए। उपस्थित १०२ जना सांसदले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिएका हुन्।

संघीय सरकार गठनका लागि केन्द्रमा बनेको सत्ता समीकरणअनुसार जसपा नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा दाबी पेस गर्दा उनलाई जसपासहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टीले समर्थन गरेका थिए।

उनले नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका थिए। आफूलाई प्रदेश सभा बैठकमा विश्वासको मत दिन आग्रह गर्दै मुख्यमन्त्री यादवले कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवलाई लिखित पत्र नै लेखेका थिए।

मुख्यमन्त्री यादवले मंगलबार जनकपुरमै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग समेत भेटेर विश्वासको मतका बारेमा छलफल गरेका थिए।
बुधवार बिहान काठमाडौंमा जसपा अध्यक्ष उपेन्द्र यादवले समेत कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर मधेस प्रदेशमा विश्वासको मत दिन आग्रह गरेका थिए।

सत्ता साझेदार दल भएपनि जसपा संघीय सरकारका मन्त्रालयहरुको बाँडफाँटमा असन्तुष्ट रहँदै सरकारमा गएको छैन। यस्तो अवस्थामा मधेस प्रदेशमा जसपाले कांग्रेसको समेत साथ खोज्नुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ।