बाराको गण्डक नहरमा मोटरसाइकल दुर्घटना‚ २ जनाको मृत्यु – Madhesh Update

बाराको गण्डक नहरमा मोटरसाइकल दुर्घटना‚ २ जनाको मृत्यु

   January 16, 2023  

बाराको महागढीमाई नगरपालिका ९ पूर्वी गण्डक नहरको सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । माघे संक्रान्तिको अवसरमा महागढीमाईस्थित रमनाकमना माई मेला हेरेर सिम्रौनगढ नगरपालिका १ बैरियातर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको मोटरसाइकलमा फर्किँदै गर्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकलमा ३ जना सवार थिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाइक अनियन्त्रित भएर नहरसँगैको थलही खोलामा खस्दा दुर्घटनामा परी युवकद्वय कासिम अंसारी र ताही अंसारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए । सोही स्थानका मोटरसाइलमा सवार अर्का युवक गुड्डु अन्सारी घाइते भएका छन् ।

मृतकद्वयको शव खोलामा बगिरहेको अवस्थामा प्रहरी फेला पारेको हो । दुर्घटनापछि घाइते गुड्डुले मृतकको आफन्तलाई दुर्घटनाबारे जानकारी गराएका थिए । दुर्घटनामा परेको मोटरसाइकललाई प्रहरीले खोलाबाट उठाएको छ । मृतकको शव कलैया अस्पतालमा परीक्षण गराएर परिवारको जिम्मा लगाइने र घाइतेको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।