मधेस प्रदेशको नयां मुख्यमन्त्री बन्दै जसपा नेता सरोज यादव
सत्तारुढ गठबन्धनमा भएको भागबन्डा अनुसार मधेस प्रदेशमा जसपाको नेतृत्वमा सरकार बन्ने भएको छ। र, जसपाका सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ।
जसपाले सोमबार पूर्वप्रदेश सभामुख सरोज यादवलाई दलको नेतामा चयन गरिसकेको छ। २०७४ को निर्वाचनपछि जसपाकै लालबाबु राउत मधेस प्रदेशका मुख्यमन्त्री बनेका थिए। गत ४ मंसिरमा भएको निर्वाचनबाट पुन विजयी भएका राउत पुन मुख्यमन्त्रीमा दोहोरिन चाहेका थिए। तर, दलको नेतामा राउतसमेतको समर्थनमा यादव चुनिए।
तर, यादव त्यति सजिलै दलको नेता चुनिएका भने होइनन्। दलको नेता चयनका लागि सोमबारसम्म रस्साकस्सी नै चलेको थियो। सर्वसम्मत नेता चयनको अवस्था नदेखेपछि प्रदेश सांसदहरूले शुक्रबार पार्टीका केन्द्रीय अध्यक्ष उपन्द्र यादवलाई जिम्मेवारी दिएका थिए। तर, त्यसमा मुख्यमन्त्री राउतले हस्ताक्षर गर्न मानेनन्। त्यसपछि आइतबार जसपाले दलको नता छान्न निर्वाचन प्रक्रिया सुरु गरेको थियो। लालकिशोर साहको नेतृत्वमा बनेको तीन सदस्यीय निर्वाचन समितिले काम अघि बढायो।
समितिले आइतबार मतदाता नामावली सार्वजनिक गर्दै सोमबार उम्मेदवारी दर्ता र मतदान कार्यक्रम तय गर्यो। कार्यतालिका अनुसार सोमबार यादव र राउतले दलको नेताका लागि उम्मेदवारी दर्ता समेत गराए। तर, पुन बसेको जसपाका केही सांसदहरूको बैठकले राउतलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गर्यो। त्यसपछि राउतले यादवलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिए।
मधेस प्रदेशका सासंद समेत रहेका जसपाका केन्द्रीय प्रवक्ता मनिष सुमनले दलको नेता चयनसँगै अब मंगलबार मुख्यमन्त्रीका लागि दाबी पेस गरिने बताए। मधेस प्रदेशका प्रदेश प्रमुखले २८ गते ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई समयसीमा दिएका छन्। केन्द्रमा सतारुढ गठबन्धनबीच भएको सहमति अनुसार मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आधाआधा कार्यकाल मुख्यमन्त्री र एमालेले सभामुख लिने सहमति भएको छ।
सहमति अनुसार जसपाले पहिलो अढाई वर्षका लागि आफ्नो मुख्यमन्त्री बनाउन लागेको हो। जसपाबाट मुख्यमन्त्री बन्न लागेका यादव सद्भावना पार्टीबाट लामो राजनीति गरेका नेता हुन्। राजेन्द्र महतोको नेतृत्वमा रहेको तत्कालीन सद्भावना पार्टीबाट केन्द्रमा उद्योग राज्यमन्त्री भसकेका यादवले देश संघीयता गएपछि भएको पहिलो निर्वाचनमै संघभन्दा प्रदेशतर्फ आफूलाई केन्द्रित गरे। २०७४ को पहिलो प्रदेश निर्वाचनमा बाराबाट निर्वाचित भएपछि यादव तात्कालीन राजपाबाट प्रदेश सभाको सभामुख बनेका थिए। मधेस प्रदेशको नामाकरण र राजधानी निर्धारण गर्दा उनको भूमिकालाई मधेसमा प्रशंसा गरिएको थियो।
०७४ को निर्वाचनमा राजपाबाट निर्वाचित यादव पार्टी एकीककरणपछि अन्य नेतासँगै जसपामा रहे। तर, जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो अलग भएर लोसपा गठन गर्दा भने जसपामै रहे। त्यतिबेलै उनले जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रदेसको मुख्यमन्त्रीको ‘बार्गेनिङ’ गरेको चर्चा चलेको थियो।
जसपा अध्यक्ष यादवले बीचमा आफ्नै पार्टीको प्रदेश सरकार परिर्वतन गर्न खोजेपनि त्यो सफल हुन सकेन। जसपा प्रवक्ता सुमनले मुख्यमन्त्रीबाहेक अन्य मन्त्रालयहरूको बाँडफाँट पनि केन्द्रीय नेताहरूले गठबन्धनमा गर्ने सहमति अनुसार हुने बताए।