उपेन्द्र यादवलाई दिइएको अधिकार अमान्य भए पछि जसपामा मधेश प्रदेशको संसदीय दलको चुनाव हुदै – Madhesh Update

उपेन्द्र यादवलाई दिइएको अधिकार अमान्य भए पछि जसपामा मधेश प्रदेशको संसदीय दलको चुनाव हुदै

   January 8, 2023  

केन्द्रिय अध्यक्षलाई दिइएको अधिकार मानेन कामचलाउ मुख्यमन्त्री लालबाबु राउत

सर्वसम्मत नेतृत्व चयन गर्न पार्टी अध्यक्षलाई दिइने प्रस्तावमा मुख्यमन्त्री लालबाबु राउत असहमत भएपछि जनता समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलमा चुनाव हुने भएको छ ।

जसपा निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने भोलि सोमबार बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

साँझ ५ देखि ६ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए ।

नेताहरुका अनुसार मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभा सदस्य रामआशिष यादवको उम्मेदवारी दर्ता हुने सम्भावना छ । दलको नेताका लागि ९ जना आकांक्षी थिए ।

बिहीबार र शुक्रबार जनकपुरधाममा बसेको प्रदेशसभा सदस्यहरूको बैठकमा सहमतिको प्रयास भएको थियो । सहमति नजुटेपछि सर्वसम्मत दलको नेता छनोट गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिन नेताहरुले प्रस्ताव गरेका थिए । त्यसमा १४ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए ।

एक प्रदेशसभा सदस्यका अनुसार उनीहरुले राउतलाई दलको नेतामा दाबी नगर्न र नयाँलाई अवसर दिन आग्रह गरेका थिए । तर मुख्यमन्त्री समेत रहेका राउत त्यसमा सहमत भएनन् । पार्टी अध्यक्ष यादवले आफूलाई छनोट गर्ने सम्भावना नदेखेपछि राउत सहमत नभएको एक प्रदेशसभा सदस्य बताउँछन् ।