प्रदेशसभा सुुरु भए पनि मधेस सरकार बनाउनमा अन्योलता – Madhesh Update

प्रदेशसभा सुुरु भए पनि मधेस सरकार बनाउनमा अन्योलता

   January 3, 2023  

मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरुबीच नै अन्यौल भएको छ । पुस २८ गतेभित्र मुख्यमन्त्री चयन गर्नुपर्ने भएपनि दलहरुबीच केन्द्रमा सहमति नबन्दा कुनै प्रक्रिया नै अघि नबढेको नेताहरूले बताएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद रामचन्द्र मण्डलले मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने प्रस्ट भैनसकेको बताए । उनले केन्द्रीय सहमति के भएको छ भन्ने प्रस्ट नभएसम्म सरकार गठनको गृहकार्य सुरु नै नहुने बताए ।

पहिलो कुरा प्रदेश प्रमुखले अहिलेसम्म सरकारका लागि आव्हान नै गरेको अवस्था छैन । दोस्रो कुरा मधेस प्रदेशका कतिपय राजनीतिक दलहरूले संसदीय दलको नेता पनि छानिसकेका छैनन्’, नेता मण्डलले भने, ‘एमालेले आजैबाट दलको नेता छान्न छलफल थालेको छ ।’
उनले सहमतिबाट दलको नेता छान्ने प्रयास भइरहेको पनि बताए । ‘हामी सकभर सहमतिबाटै दलको नेता छान्ने प्रयासमा छौ, भएन भने निर्वाचन प्रक्रियामा पनि जान्छौ’, मण्डलको भनाइ छ । उनले मधेस प्रदेशमा ठुलो दलको हैसियतले मुख्यमन्त्रीका लागि दाबी गर्नु स्वाभाविक रहेको पनि बताए ।

उनले केन्द्रमा हुने राजनीतिक सहमति र समीकरणको प्रस्ट खाका आएपछि बल्ल सरकारका लागि गृहकार्य थाल्ने बताए । ‘अहिलेसम्म हामीहरूले कुनै पनि दलसँग सरकार गठनबारे छलफल पनि गरेका छैनौ । माथि के सहमति हुन्छ, सोही अनुसार हामी अघि बढ्ने हो । अहिलेसम्म यसको उसको नेतृत्वमा सरकार बन्ने भनेर पार्टीबाट पनि केही भनिएको छैन त्यसैले अहिलेको अवस्थामा मधेसमा कसको सरकार बन्छ भन्ने जटिल बनेको छ’, मण्डलको भनाई छ । मधेस प्रदेशमा नेकपा एमालेका 23 सांसद छन् ।