मधेश प्रदेश सभा सुुरु, सभामुखको निर्वाचन २ माघमा – Madhesh Update

मधेश प्रदेश सभा सुुरु, सभामुखको निर्वाचन २ माघमा

   January 2, 2023  

४ मंसीरको निर्वाचनवाट निर्वाचित भएर आएका नयां प्रदेशसभा सदस्यहरुको उपस्थितीमा मधेश प्रदेशसभाको दोस्रो कार्यकाल प्रारम्भ भएको छ । दोस्रो कार्यकालको पहिलो बैठकलाई सोमवार प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, पूर्वसभामुख सरोजकुमार यादव सहित १४ जना प्रदेशसभा सदस्यले सम्बोधन गरेका थिए । मुख्यमन्त्री लालबाबु राउतले संविधानको कार्यान्वयन र सङ्घीयताको संस्थागत विकासका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट हुनुपर्ने बताए। उनले सङ्घीयतालाई बोझको रुपमा चित्रित गर्दै यसलाई बोक्न सकिन्न भन्नेहरुका विरुद्ध मधेस प्रदेशका सबै दलले एकताबद्ध भएर जवाफ दिनुपर्ने धारणा राखे।

पाँच वर्ष मुख्यमन्त्री रही दोस्रो कार्यकालका लागि पुनः सांसदमा निर्वाचित भएका मधेस प्रदेशका मुख्यमन्त्री राउतले अझै पनि संघीयता कार्यान्वयनमा चुनौती रहेको दाबी गरेका थिए । प्रदेश सांसदहरूको शपथग्रहणपछि सोमबार बसेको पहिलो प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताए थिए ।

नयाँ सरकारकालाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै मुख्यमन्त्री राउतले सबै दल एकमत भएर अगाडि बढ्नुपर्ने आह्वान गरेका थिए । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको समन्वयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘चुनौतीका बीच प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाउँदा सबै दलको सहयोग सरकारका लागि महत्त्व राख्दछ,’ मुख्यमन्त्री राउतले भने,‘ऐन र नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गर्न सकारात्मक सहयोग प्राप्त भयो ।’

संघीयता कार्यान्वयनकै लागि संघीय सरकारविरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नु परेको पनि मुख्यमन्त्री राउतले बताएका थिए । मुलुकमा मधेस प्रदेशले मात्र संघीयता टिकाएको दाबी गर्दै मुख्यमन्त्री राउतले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढे मात्रै संघीयता कार्यान्वयन हुने धारणा राखेका थिए ।

सभामुखको निर्वाचन माघ २ मा

मधेस प्रदेश सभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ। नवनिर्वाचित प्रदेश सभाको सोमबारको पहिलो बैठकमा सभा अध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिए। उनले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभा सचिव रञ्जितकुमार यादवलाई निर्देशन दिए।

बैठकले प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदन गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको प्रदेश सभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए। मनोनित सदस्यहरुमा सांसदहरु रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहेका छन्।